चीनको आर्थिक वृद्धिमा चुनौती
घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा सङ्कटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ ।
निर्यातमा वृद्धि भए पनि घरजग्गा क्षेत्रको सङ्कट र उपभोक्ताको कमजोर खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्रमा दबाब बढाएको छ ।
एएफपीले अर्थशास्त्रीहरूबीच गरेको सर्वेक्षणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म चीनको अर्थतन्त्र ४.४ प्रतिशतले विस्तार हुने अनुमान छ । दोस्रो त्रैमासिकमा वृद्धिदर ४.३ प्रतिशत थियो । चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
हुटोङ रिसर्चकी अर्थशास्त्री गुओ शानले निर्यात मात्रै अर्थतन्त्रको बलियो पक्ष बनेको बताए । उनका अनुसार घर खरिदमा अनुदान र पूर्वाधार लगानी बढाउने सरकारी उपाय पर्याप्त नहुन सक्छन् । ऊर्जा लागत वृद्धिका कारण अन्तर्राष्ट्रिय मुद्राकोषले पनि चीनको वार्षिक आर्थिक वृद्धिको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ ।
कम्प्युटर, अर्धचालक र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उपकरणको विश्वव्यापी मागले चीनको निर्यात बढाएको छ । तर बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली सङ्घ (इयु) सँग तनाव बढाएको छ । चीनले घरेलु उद्योगलाई दिने अनुदानले विदेशी बजारमा अनुचित प्रतिस्पर्धात्मक लाभ दिएको आलोचना पनि हुँदै आएको छ ।
अर्थशास्त्रीहरूका अनुसार चीनले निर्माण, घरजग्गा र निर्यातमा निर्भर अर्थतन्त्रलाई घरेलु उपभोगमा आधारित दिगो विकासतर्फ लैजान आवश्यक छ । तर घरेलु माग कमजोर रहँदा चिनियाँ उत्पादकहरू नयाँ बजार खोज्दै विदेशतर्फ केन्द्रित भइरहेका छन् ।