सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा एक महिनामा १९७ सवारी दुर्घटना : आठ जनाको मृत्यु, ३११ घाइते

२०८३ कार्तिक २, ०२:२५ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुर जिल्लामा असोज महिनामा १९७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने ३११ जना घाइते भएका छन्। दुवै जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको मासिक विवरणअनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ३३८ वटा सवारी साधनलाई कारबाही गर्दा १९ लाख ६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असोज महिनाभर जिल्लामा १४३ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २३५ जना घाइते भएका छन्। दुर्घटनामा १९८ वटा सवारी साधन संलग्न रहेका थिए। दुर्घटनापछि प्रहरीले १४३ जनाको उद्धार गरेको जनाएको छ।

कैलालीमा भएका दुर्घटनामध्ये १३५ वटा चालकको गल्ती वा लापरबाहीका कारण भएका छन्। त्यस्तै, सडकमा छाडिएका चौपायाका कारण ५ वटा, सवारी साधनको यान्त्रिक खराबीका कारण २ वटा र यात्रुका कारण एउटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

यसैगरी, कञ्चनपुरमा असोज महिनामा ५४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। दुर्घटनामा ७६ वटा सवारी साधन संलग्न रहेको र दुर्घटनापछि प्रहरीले ७० जनाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कञ्चनपुरमा भएका दुर्घटनामध्ये ४६ वटा चालकको गल्ती वा लापरबाहीका कारण भएका छन् भने ८ वटा दुर्घटना सडकमा छाडिएका चौपायाका कारण भएका छन्।प्रहरीको विवरणअनुसार सवारी साधनको यान्त्रिक खराबी, यात्रु वा मौसमका कारण कुनै दुर्घटना भएको छैन। दुर्घटनामा संलग्न सडकको अवस्था पिच रहेको पनि तथ्याङ्कमा उल्लेख छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथिको कारबाहीबाट कैलालीमा १३ लाख ७१ हजार ५०० रुपैयाँ र कञ्चनपुरमा ५ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कैलालीमा १ हजार ५८३ वटा र कञ्चनपुरमा ७५५ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस