सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर अस्पतालका चार कर्मचारीलाई सम्मानसहित बिदाइ

२०८३ असोज ३१, ०५:५४ खबर संवाददाता

धनगढी :  कैलालीको टीकापुर अस्पतालमा लामो समयदेखि कार्यरत रही अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याएका चार जना कर्मचारीलाई सम्मानसहित बिदाइ गरिएको छ।

अस्पतालमा लामो समयदेखि आफ्नो जिम्मेवारी इमानदारी, निष्ठा र लगनशीलताका साथ निर्वाह गर्दै आएका मोहन सिंह साँउद,बलबहादुर कठरिया, जयलाल जैसी र श्रीमती शारदा सदाशंकरलाई अस्पताल परिवारले एक कार्यक्रम आयोजना गरी सम्मानपूर्वक बिदाइ गरेको हो।

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीलगायत अस्पताल परिवारको उपस्थितिमा सम्पन्न कार्यक्रममा सेवा निवृत्त हुन लाग्नुभएका कर्मचारीहरूले अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसा र कदर गरिएको थियो।

लामो समयसम्म संस्थाप्रति समर्पित भई जिम्मेवारीपूर्वक काम गर्नु, सेवाग्राहीप्रति सद्भाव राख्नु र आफ्नो कर्तव्यप्रति इमानदार रहनु कर्मचारीका महत्वपूर्ण गुण भएको कार्यक्रममा जोड दिइएको थियो। उनिहरूको सेवाभाव, अनुशासन, मेहनत र अनुभवले अस्पतालको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेको अस्पताल परिवारले जनाएको छ।

सेवा निवृत्ति कर्मचारीको जीवनको एउटा महत्वपूर्ण चरण भए पनि उनिहरूले संस्थामा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने अस्पताल परिवारको विश्वास छ। उनिहरूको योगदानले आगामी पुस्ताका कर्मचारीलाई समेत कर्तव्यनिष्ठ, इमानदार र सेवाप्रति समर्पित भएर काम गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

अस्पताल परिवारले चारै जना कर्मचारीको आगामी सेवा निवृत्त जीवन सुखमय, स्वस्थ, शान्तिपूर्ण र समृद्ध रहोस् भन्ने कामना गर्दै उनिहरूप्रति हार्दिक सम्मान तथा शुभकामना व्यक्त गरेको छ।

कमेन्ट लोड गर्नुस