सुदूरपश्चिम प्रदेशसभामा रिक्त सिट संख्या तीन पुग्यो
धनगढी: बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका सांसद वीरबहादुर थापाले राजीनामा दिएसंगै सुदूरपश्चिम प्रदेशसभामा रिक्त सिट संख्या तीन पुगेको छ। ५३ सदस्यीय प्रदेशसभामा यसअघि नै दुई सांसदको स्थान रिक्त रहेकामा थापाको राजीनामासँगै रिक्त सिट थपिएको हो।
पूर्वमन्त्रीसमेत रहेका थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित भएका थिए। प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै उनले सभामुखसमक्ष राजीनामा दिएका थिए।
नेपालको संविधानअनुसार प्रदेशसभा सदस्यले राजीनामा दिएमा निजको स्थान रिक्त हुन्छ। थापाको राजीनामासम्बन्धी जानकारी अब बस्ने प्रदेशसभा बैठकमा सभामुखले सुनाउनेछन्।
यसअघि डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित स्वतन्त्र सांसद तारा जोशीले राजीनामा दिएका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाश देउवा पदमुक्त भइसकेका छन्। लगातार प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि सभामुखले उनलाई पदमुक्त गरेका थिए।