दसैं लागेसंगै सुदूरपश्चिममा बढ्यो ट्राफिक प्रहरीको सक्रियता, ३९ यात्रु सहायता कक्ष
धनगढीः दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले सुरक्षा निगरानी बढाएको छ। चाडपर्वका बेला यात्रुको चाप व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, बढी भाडा असुली तथा यात्रुमाथि हुन सक्ने ठगी नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
चाडपर्वमा यात्रुको आवागमन सहज र सुरक्षित बनाउन प्रदेशका विभिन्न राजमार्गमा सवारी जाँच तथा निगरानी बढाइएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार चाडपर्वमा ट्राफिक प्रहरीको परिचालन बढाउनुका साथै यात्रुलाई सहज र सुरक्षित यात्रा गर्ने वातावरण मिलाइएको छ।
दसैँ मनाउन घर फर्किने यात्रुको संख्या बढेसँगै सार्वजनिक यातायातमा बढी भाडा असुल्ने, दोहोरो टिकट काट्ने र विभिन्न बहानामा यात्रुलाई दुःख दिने समस्या हुन सक्ने भन्दै प्रहरीले यातायात व्यवसायीसँग छलफलसमेत गरेको कार्कीले बताए। यात्रुलाई ठगीबाट जोगाउन टिकट काउन्टरका कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको एसपी कार्कीले बताए।
यात्रुको बढी चहलपहल हुने प्रदेशका ३९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ। बसपार्क, सीमा नाका, मुख्य राजमार्ग र भिडभाड हुने क्षेत्रलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएका सहायता कक्षबाट यात्रुलाई आवश्यक जानकारी तथा परामर्श दिने, गुनासा सुन्ने र समस्या समाधानका लागि सहजीकरण गर्ने काम भइरहेको एसपी कार्कीले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार नियमित ट्राफिक व्यवस्थापनसँगै चाडपर्वमा हुन सक्ने ठगी र अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न विशेष निगरानी भइरहेको छ। चाडपर्वमा यात्रुको चापको फाइदा उठाएर ठगी गर्ने तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको र आवश्यक परे कानुनी कारबाही गरिने प्रहरी निरीक्षक आचार्यले बताए।
उनका अनुसार भारतकाबाट दसैँ मनाउन सुदूरपश्चिमका जिल्लामा फर्किने नेपालीको चहलपहल पनि बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै सीमा नाकामा समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ। यात्रुलाई सम्भावित ठगी र अन्य समस्याबारे सचेत गराउन विभिन्न स्थानमा जनचेतनामूलक गतिविधि सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा यात्रा गर्दा टिकटको मूल्य र विवरण जाँच गर्न तथा तोकिएकोभन्दा बढी भाडा असुलिएमा वा अन्य समस्या देखिएमा नजिकैको यात्रु सहायता कक्ष अथवा ट्राफिक प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरेको छ।