चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न कञ्चनपुर प्रशासनको आग्रह
कञ्चनपुरः चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
बिहीबार साँझ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा विशेष अनुरोधसहितको सूचना जारी गर्दै बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, कार्यालय, सङ्घसंस्थालगायतले आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध गर्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न अनुरोध गरेका छन्।
उनले चाडपर्वका बेला मनोरञ्जनका नाममा प्रयोग हुने पदार्थहरू आतिसबाजी, भुइँचम्पा, पटाका, बारूद, अन्य विस्फोटक तथा आगलागी हुने वस्तुहरूको खरिद, बिक्री, ओसारपसार र प्रयोग नगर्न÷नगराउनसमेत आग्रह गरे। त्यस्तै चाडपर्वको बहानामा गैरकानुनी गतिविधिहरू जुवातास, चिठ्ठा, कौडा, सट्टेबाजी नगर्न÷नगराउन आग्रह गर्दै सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ।
अनलाइन सपिङ (किनमेल), गैरकानुनी चिठ्ठा वा सामाजिक सञ्जालमार्फत आउने अपरिचित व्यक्तिहरूका अफर तथा स्क्यामहरूबाट सतर्क रहनसमेत प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरे। उनले परम्परागत रूपमा मनाइने चाडपर्वहरूको सम्मान र संरक्षण गरी सबै धर्म, जातजाति र संस्कृतिप्रति आदर–सम्मान व्यक्त गर्दै तडकभडक र अवान्छित गतिविधिबाट टाढा रही एकापसमा शुभकामना, सहयोग र मेलमिलापको भावनाका साथ मर्यादित एवं अनुशासित भई सामाजिक सद्भाव र भाइचारा कायम गरी चाडपर्व मनाउनुपर्नेमा जोड दिए।
त्यसैगरी चाडपर्वको समयमा अत्यावश्यक तथा आपत्कालीन सेवाहरू अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, जनशक्ति, इन्धन लगायत तयारी अवस्थामा राख्ने र बदलिन सक्ने मौसमबाट हुनसक्ने जोखिमका लागि पूर्वतयारीको अवस्थामा रहन प्रशासन मातहतका सबैलाई अनुरोध गरे।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ महेन्द्रनगर बजारमा सञ्चालित मासु पसलहरूमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अस्वस्थकर मासु बरामद गरी जफत गरिएको प्रजिअ कोइरालाले जानकारी दिए।