सुदूरपश्चिममा बजेटमाथिको छलफल कांग्रेसले बहिष्कार गर्ने
धनगढी: सुदूरपश्चिमको बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने भएको छ। कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने बताएका छन्।
बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै कांग्रेसले छलफल बहिष्कार गर्ने निर्णय गरेको उनले बताए। बजेटमाथि छलफल गर्न मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो। तर, निर्धारित समय बितिसक्दा पनि बैठक सुरु हुन सकेको छैन।
यसअघि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बजेटमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको थियो। नेकपाले विवादित विषय छानबिनमार्फत टुंग्याउने र त्यसअघि तत्काल बजेट पारित गर्ने तयारी गरेको छ।