सुदूरपश्चिममा बजेट विवादः सत्तारुढ सांसद भन्छन्– सरकार फेरिए पनि बिचौलिया फेरिएनन्
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढ्दै गएको छ।
पार्टीका प्रदेशसभा सदस्य अक्कल रावलले बजेटप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्। रावलले सरकारको नेतृत्व फेरिए पनि बजेटमा बिचौलियाको प्रभाव नहटेको आशय व्यक्त गर्दै लेखेका छन्, ‘सरकार फेरबदल भइरहे पनि बिचौलिया फेरबदल भएनन्। उनीहरू ‘माल सदर’ गर्न सफल नै भए यो पटक पनि।’
यस्तै अर्का प्रदेशसभा सदस्य कैलाश चौधरीले पनि मुख्यमन्त्री खगराज भट्टप्रति असन्तुष्टि जनाएका छन्। आर्थिक वर्ष सुरु भएको ८५ दिनपछि सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट विवादमा तानिएको हो।
अघिल्लो सरकारको बजेटमा बेथिति भएको भन्दै राजनीतिक समीकरण बदलेर बनेको सरकारले ल्याएको बजेटप्रति सत्तारुढ दलकै सांसदहरू असन्तुष्ट देखिएका छन्। बिचौलियामार्फत कमिसनको खेल भएको र पहुँचका आधारमा योजना बाँडिएको आरोप लागेपछि सरकार दबाबमा परेको छ।
बजेटलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि बढिरहेका बेला यस विषयमा छलफल गर्न नेकपाको संसदीय दलको बैठक बसिरहेको छ। बजेट विवादकै बीच आज प्रदेशसभा बैठकसमेत बोलाइएको छ। आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए।