सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानको वृत्तचित्र भाग-१ सार्वजनिक 

२०८३ असोज २६, ०५:२८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत तयार पारिएको वृत्तचित्र भाग १ सार्वजनिक गरिएको छ।

धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्यको विशेषता, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्य समेटेर तयार पारिएको वृत्तचित्र सार्वजनिक गरिएको हो। कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले वृत्तचित्रसँगै अभियानअन्तर्गत तयार पारिएका बुकलेटसमेत विमोचन गरेका थिए।

वृत्तचित्रमा सुदूरपश्चिम प्रदेशमा रहेका प्रमुख धार्मिक स्थल, ऐतिहासिक सम्पदा, प्राकृतिक आकर्षण तथा पर्यटकीय गन्तव्यलाई समेटिएको छ। यसमार्फत प्रदेशका विभिन्न स्थानको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई दृश्य सामग्रीका माध्यमबाट आम नागरिकमाझ पुर्‍याउने प्रयास गरिएको छ।

सुदूरपश्चिम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, मौलिक संस्कृति र ऐतिहासिक सम्पदाले समृद्ध भए पनि धेरै गन्तव्य पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा छन्। यस्ता स्थलको पहिचानलाई व्यापक बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत तयार पारिएका वृत्तचित्र र बुकलेटले सुदूरपश्चिमका पर्यटकीय गन्तव्यबारे जानकारी प्रवाह गर्न, पर्यटन सम्भावना उजागर गर्न र प्रदेशको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धनगढी उपमहानगरपालिकाको यस पहलले पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, धार्मिक परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कमेन्ट लोड गर्नुस