सुदूर नेपाललाई विश्वसँग जोड्दै

साहित्यकार सुरतबहादुर शाहका दुई कृति धनगढीमा लोकार्पण

२०८३ असोज २६, ०८:११ खबर संवाददाता

धनगढी: नेपाल प्रहरीका पूर्वअधिकृत एवं साहित्यकार सुरतबहादुर शाहका दुई कृति ‘आत्मचिन्तन’ र ‘बेलायत यात्रा ः एक संस्मरण’ धनगढीमा लोकार्पण गरिएको छ। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एक समारोहका बीच दुवै कृतिको लोकार्पण गरेका हुन्। कार्यक्रममा साहित्यकार शाहका कृतिले व्यक्तिगत अनुभव, जीवनप्रतिको दृष्टिकोण र समाजलाई बुझ्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको थियो। साहित्य समाजको ऐना मात्र नभई व्यक्तिका अनुभव, विचार र समयलाई अभिलेख गर्ने महत्वपूर्ण माध्यमसमेत भएकाले यस्ता कृतिको अध्ययन र चर्चा आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

‘आत्मचिन्तन’ र ‘बेलायत यात्रा: एक संस्मरण’ शीर्षकले नै जीवनलाई फर्केर हेर्ने र यात्राका अनुभवलाई शब्दमा उतार्ने फरक पक्षलाई समेटेको संकेत गर्छन्। यस्ता कृतिले पाठकलाई लेखकका अनुभवसँग जोड्दै नयाँ दृष्टिकोण निर्माण गर्न सहयोग पु¥याउन सक्छन्।

कार्यक्रममा प्राडा हेमराज पन्त, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय वासुदेव पाण्डेय र जनक रसिक, साहित्यकार रामलाल जोशी, पदमराज जोशी ‘प्रभात’, टोपेन्द्र शाहलगायत धनगढीका दर्जनौँ बौद्धिक तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्यकार, प्राज्ञ तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थितिले सुदूरपश्चिमको साहित्यिक गतिविधि र सिर्जनात्मक अभ्यासप्रतिको चासोसमेत झल्काएको थियो।

कमेन्ट लोड गर्नुस