धनगढीमा बाली लगाउँछन् किसान, सखाप पार्छन् जंगली जनावर
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित शिवनगर टोलका किसान जंगली जनावरले खेतीबाली नष्ट गर्न थालेपछि हैरानी भएका छन्। डिलाशैनी सामुदायिक वनमा बसोबास गर्ने जंगली जनावर रातिको समयमा खेतबारीमा पसेर अन्नबाली तथा फलफूल नष्ट गर्न थालेपछि स्थानीय किसान समस्यामा परेका हुन्।
शिवनगर टोलका किसानले लगाएको धान, गहुँ, केरा, तिल र मासलगायतका बाली बर्सेनि जंगली जनावरले खाने तथा कुल्चिएर नष्ट गर्ने गरेका छन्। विशेषगरी बँदेल, नीलगाई, चित्तल र बाँदरका कारण खेतीबालीमा क्षति पुग्ने गरेको स्थानीयको भनाइ छ। वर्षभरि मेहनत गरेर लगाएको बाली भित्र्याउने बेलामा जंगली जनावरले नष्ट गरिदिँदा किसानको श्रम र लगानी खेर जाने गरेको छ।
डिलाशैनी सामुदायिक वन नजिकै बसोबास गर्दै आएकी कलशीदेवी धानुकका अनुसार जंगली जनावर रातिको समयमा खेतबारीमा आउने गरेका छन्। यसवर्ष उनको धान खेतीमा समेत क्षति पुगेको छ भने तिल र मासखेतीमा ठूलो नोक्सानी भएको छ। हरेकवर्ष यही समस्या दोहोरिने गरे पनि समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनको गुनासो छ।
धानुकका लागि यो वर्षको क्षति मात्रै समस्या होइन। वर्षौंदेखि जंगली जनावरले खेतीबाली नष्ट गर्दै आएपछि खेतीपातीबाट हुने आम्दानीसमेत अनिश्चित बन्दै गएको छ। खेतीपातीमै निर्भर किसानलाई यसले आर्थिक समस्यासमेत थप्ने गरेको छ। शिवनगर टोलकै अर्का बासिन्दा पदमबहादुर बिष्ट पनि जंगली जनावरको उपद्रका कारण खेतीपाती गर्न कठिन भएको बताउँछन्। टोलका अधिकांश बासिन्दाको मुख्य पेसा कृषि भएकाले जनावरले बाली नष्ट गर्दा धेरै परिवार प्रभावित भएको उनको भनाइ छ।
बिष्टका अनुसार कञ्चनपुरको लालझाडी क्षेत्र हुँदै कृष्णपुर नगरपालिकाका सामुदायिक वनबाट जंगली जनावर मोहना नदी तरेर बोराडाँडीस्थित डिलाशैनी सामुदायिक वनमा आउने गरेका छन्। कैलाली र कञ्चनपुरको सीमावर्ती क्षेत्रमा वनजंगल जोडिएकाले जनावरको आवतजावत हुने गरेको स्थानीयको भनाइ छ।
डिलाशैनी सामुदायिक वन वरिपरि तारजालीको उचित व्यवस्था नहुँदा जंगली जनावर सजिलै खेतबारीमा प्रवेश गर्ने गरेका छन्। वनबाट जनावर बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन आवश्यक व्यवस्था नहुँदा किसानले वर्षेनि क्षति बेहोर्नुपरेको विष्ट बताउँछन्। उनका अनुसार वर्षौंदेखि समस्या भोग्दै आए पनि वन समिति, स्थानीय तह तथा प्रदेश सरकारबाट दीर्घकालीन समाधानका लागि पर्याप्त पहल हुन सकेको छैन।
यसअघि किसानले रातिको समयमा खेतमै टहरा बनाएर खेतीबालीको पहरा दिने गरेका थिए। जंगली जनावरबाट बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता भए पनि पछिल्लो समय त्यो सम्भव हुन छाडेको स्थानीय बताउँछन्। रोजगारीका लागि गाउँका केही युवा भारत तथा अन्य देश गएपछि खेतबारीमा पहरा दिने जनशक्ति घटेको छ। महिलाहरूले पनि रातिको समयमा खेतमा गएर पहरा दिन असुरक्षित महसुस गर्ने भएकाले खेतीबाली जोगाउन थप कठिन भएको उनीहरूको भनाइ छ।
मेहनत र लगानी गरेर लगाएको बाली पाक्ने बेलामै नष्ट हुन थालेपछि किसान निराश छन्। खेतीबाटै परिवारको जीविकोपार्जन गर्दै आएका उनीहरूलाई जंगली जनावरबाट हुने क्षतिले आर्थिक भार थपिरहेको छ।
स्थानीय किसानले जंगली जनावरको आवतजावत नियन्त्रण गर्न वन क्षेत्र वरिपरि आवश्यक तारजालीको व्यवस्था गर्न, क्षति न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन र समस्याको दीर्घकालीन समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन्। वर्षौंदेखि दोहोरिँदै आएको समस्याको समाधानका लागि वन समिति, स्थानीय तह र प्रदेश सरकारले समन्वय गरेर ठोस कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ।