सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले आज पनि बजेट सार्वजनिक गर्न सकेन, भोलि के होला ?

२०८३ असोज २१, ०८:१७ खबर संवाददाता

धनगढी: साउन १ गतेदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले बुधबार पनि बजेट सार्वजनिक गर्न सकेन। बजेट प्रस्तुत गर्न आज साँझ ५ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक नै नबसी स्थगित भएपछि सरकारको बजेट ल्याउने योजना फेरि अन्योलमा परेको छ।
प्रदेशसभा बैठक अब बिहीबार बिहान ८ बजेका लागि बोलाइएको छ।

अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटसम्बन्धी विवादमा सर्वोच्च अदालतले प्रदेश सरकारलाई लिखित जवाफ पेस गर्न आदेश दिएपछि बजेट प्रस्तुत गर्ने तयारी प्रभावित भएको हो।
अधिवक्ता मनिराम उपाध्यायले दायर गरेको उत्प्रेषणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई असोज २३ गते छलफलमा बोलाएको छ।

रिटमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटबाहेक नयाँ बजेट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरिएको उपाध्यायले बताए। सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाएपछि बजेट पेस गर्ने कि नगर्ने अन्योल बढेको एक मन्त्रीले बताए। `हामी कानुनी परामर्शमा छौं,´ उनले भने ।

यसअघि बुधबार बजेट प्रस्तुत गर्ने तयारी भए पनि बजेट स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठक बस्न सकेन। त्यसपछि प्रदेशसभा बैठकसमेत स्थगित गरिएको हो।

सरकारले पटकपटक बजेट ल्याउने मिति तोक्दै आए पनि प्रक्रिया टुंग्याउन नसक्दा सुदूरपश्चिम चालु आर्थिक वर्ष सुरु भएदेखि नै बजेटविहीन अवस्थामा छ। बजेट नआउँदा प्रदेश सरकारका नियमित विकास तथा प्रशासनिक गतिविधिसमेत प्रभावित हुँदै आएका छन्।

कमेन्ट लोड गर्नुस