कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो, पाकेको धानमा पनि क्षति
धनगढीः कैलाली र कञ्चनपुरमा वर्षाका कारण धानबालीमा क्षति पुगेको छ। सोमबार राति र बुधबार बिहान परेको वर्षाले पाकेर काट्ने तयारीमा रहेको धान तथा काटेर खेतमै राखिएको धानमा नोक्सानी पुगेको हो।
दुवै जिल्लाका केही किसानले धान काटिसकेका थिए। तर, काटेको धान खेतमै रहेका बेला पानी परेपछि भिजेको छ। पटकपटक वर्षा भइरहेकाले काटेको धान सुकाएर सुरक्षित रूपमा भित्र्याउनसमेत किसानलाई समस्या भएको छ।
समथर भू–भागमा पानी जमेकाले पाकेको धान काट्नसमेत कठिनाइ भइरहेको किसानहरू बताउँछन्। खेतमा पानी जमेको अवस्थामा धान काट्न नसकिँदै पुनः वर्षा भएपछि पाकेको धान झर्ने, भिज्ने र कुहिने जोखिम बढेको छ।
समयमै भित्र्याउनुपर्ने धानबाली वर्षाका कारण खेतमै क्षति हुन थालेपछि किसानहरू चिन्तित भएका छन्। केही दिनअघि लगातार तीन दिनसम्म परेको वर्षाले समेत धानबालीमा असर गरेको किसानहरूको भनाइ छ।
धान काट्ने मुख्य समयमा नै मौसममा आएको फेरबदल र पटकपटक भइरहेको वर्षाले किसानलाई थप अन्योलमा पारेको छ। कैलाली र कञ्चनपुर सुदूरपश्चिमका प्रमुख धान उत्पादन हुने जिल्ला हुन्। पाकिसकेको धान समयमै काटेर भित्र्याउन नसक्दा उत्पादनमा समेत असर पर्ने किसानहरूको चिन्ता छ।वर्षा निरन्तर भइरहेमा खेतमा पाकेको धान र काटेर राखिएको धान दुवैमा थप क्षति पुग्न सक्ने अवस्था देखिएको छ।