कैलालीमा चाडपर्व लक्षित सुरक्षा योजना, ११४६ प्रहरी परिचालन
धनगढीः बडादशैं, तिहार तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष सुरक्षा योजना–२०८३ कार्यान्वयनमा ल्याएको छ।
चाडपर्वका बेला हुने यात्रु आवागमन, बजारमा बढ्ने भीडभाड तथा आर्थिक कारोबार, बैंक तथा वित्तीय संस्था, धार्मिक तथा सांस्कृतिक गतिविधि र सीमा क्षेत्रमा हुने आवागमनलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना लागू गरेको हो।
सुरक्षा व्यवस्थाका लागि कैलालीमा १ हजार १४६ जना प्रहरी कर्मचारी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जोखिम र सुरक्षा संवेदनशीलताका आधारमा प्रहरीलाई जिल्लाका विभिन्न क्षेत्रमा खटाइनेछ। आवश्यकता अनुसार मोबाइल तथा पैदल गस्ती, पिकेट, सादा पोशाक, क्यूआरटी, स्ट्राइकिङ र रिजर्भ टोलीसमेत परिचालन गरिने प्रहरीले जनाएको छ।
चाडपर्वको समयमा बजार, मुख्य सडक, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, बसपार्कलगायत भीडभाड हुने स्थानमा नियमित तथा आकस्मिक गस्ती बढाइनेछ। सम्भावित आपराधिक गतिविधिबारे सूचना संकलन तथा विश्लेषण गरी आवश्यकताअनुसार तत्काल प्रहरी परिचालन गरिनेछ।
भारतसँग जोडिएका सीमा क्षेत्रमा समेत विशेष निगरानी बढाइने भएको छ। चोरी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि नियमित तथा आकस्मिक चेकजाँच गरिने प्रहरीले जनाएको छ।
चाडपर्वमा घर फर्किने तथा बाहिर जाने यात्रुको सहजता र सुरक्षाका लागि कैलालीका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनुका साथै हराएका वा छुटेका बालबालिका तथा अन्य व्यक्तिको खोज तथा उद्धारमा समन्वय गरिनेछ।
त्यस्तै, अत्यधिक सवारी चाप र सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीसँगको समन्वयमा सवारी जाँच तथा सडक सुरक्षा व्यवस्था कडा बनाइनेछ। सवारी साधनको अवस्था, चालकले मादक पदार्थ तथा लागुऔषध सेवन गरे÷नगरेको र तीव्र गतिलगायतका विषयमा निगरानी गरिनेछ।
बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, सहकारी, व्यापारिक प्रतिष्ठान तथा बढी आर्थिक कारोबार हुने क्षेत्रमा पनि विशेष सुरक्षा निगरानी गरिने भएको छ। चोरी, लुटपाट तथा पाकेटमारी नियन्त्रणका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ।
प्रहरीले जुवातास, अवैध मदिरा, लागुऔषध, चोरी, लुटपाट तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध विशेष निगरानी बढाउने जनाएको छ। मन्दिर, धार्मिक स्थल, मेला, बजार तथा अन्य भीडभाड हुने स्थानमा समेत आवश्यक प्रहरी परिचालन गरिनेछ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिको सुरक्षालाई विशेष प्राथमिकता दिइने प्रहरीले जनाएको छ। आगलागी, सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनामा तत्काल परिचालन हुन सक्ने गरी प्रहरी जनशक्ति र समन्वयको व्यवस्था मिलाइएको छ।
सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय तह, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले नागरिकलाई दशैं, तिहार तथा छठ पर्व शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन आग्रह गरेको छ। घर, पसल तथा कार्यालय छाडेर बाहिर जाँदा आवश्यक सुरक्षा सावधानी अपनाउन, अपरिचित व्यक्ति तथा शंकास्पद गतिविधिबाट सचेत रहन र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।