सुदूरपश्चिमको नटुंगिएको पीडा : चाडपर्वको खुसी छाडेर मजदुरीका लागि भारततिर
धनगढी: सोमबार कैलालीको त्रिनगर नाकामा भेटिइन्, बैतडीकी भागरती बिक। उनी साना बालबालिकासहित भारतको बैंग्लोर जाँदै थिइन्। स्वदेशमा रोजगारीको अवसर नपाएपछि पाँच वर्षदेखि भारतमा काम गर्दै आएकी उनी यसपटक पनि परिवारसँगै दसैं–तिहार मनाउने इच्छा हुँदाहुँदै रोजगारीकै लागि भारत जान बाध्य थिइन्।
घरपरिवारले चाडपर्वसम्म बसेर जान आग्रह गरे पनि आफूले लिएको छुट्टीको अवधि सकिएकाले पुनः भारत जानुपरेको भागरती बताउँछिन्। स्वदेशमा रोजगारीको सुनिश्चितता नभएपछि चाडपर्वभन्दा परिवारको दैनिक खर्च धान्नुपर्ने बाध्यता भएको उनको भनाइ छ।
बैतडीकै मानमतीको अवस्था पनि उस्तै छ। ग्रामीण क्षेत्रकी उनी स्वदेशमै रोजगारीको अवसर नपाएपछि केही वर्षदेखि बैंग्लोरमा घरघरमा पुगेर खाना बनाउने काम गर्दै आएकी छन्। स्वास्थ्य, शिक्षा र रोजगारीको पहुँच कमजोर रहेको ग्रामीण क्षेत्रका महिलाहरू समेत परिवारको आर्थिक अवस्था धान्न बिरानो मुलुकमा मजदुरी गर्न बाध्य भएको उनी बताउँछिन्।
`प्रदेशमै केही रोजगारीको सम्भावना भइदिएको भए परिवार छाडेर किन बिरानो देश जान्थ्यौँ र ?´ मानमती प्रश्न गर्छिन्। सुदूरपश्चिमका महिलामात्र होइन, पुरुषहरूको ठूलो संख्या पनि चाडपर्वको मुखैमा रोजगारीका लागि भारतका विभिन्न राज्यमा गइरहेका छन्।
बैतडीका मदन बिक पनि बालबालिका पाल्न र घरखर्च चलाउन सहज होस् भनेर भारतमा मजदुरी गर्न जान लागेको बताउँछन्। स्थानीय तहमा पर्याप्त विकास तथा रोजगारी सिर्जना गर्ने योजना नहुनु र प्रदेश सरकारले समेत रोजगारीका अवसर सिर्जना गर्न नसक्दा युवा मात्र होइन, उमेर ढल्किएका नागरिकसमेत बाध्यताले भारतमा मजदुरी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
दसैं–तिहारको मुखमा समेत धनगढीको त्रिनगर–गौरीफन्टा नाकाबाट दैनिक पाँच सय जनाको हाराहारीमा भारततर्फ जाने गरेको सीमा क्षेत्रमा रहेको तथ्यांकले देखाउँछ। चाडपर्वको समयमा स्वदेश फर्किनेको संख्या बढे पनि रोजगारीका लागि भारत जाने क्रम निरन्तर रहेको सीमा क्षेत्रमा खटिएका अधिकारीहरू बताउँछन्।
सुदूरपश्चिममा रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउने विषय लामो समयदेखि बहसमा रहे पनि नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्न सकेका छैनन्। प्रदेश सरकार जनअपेक्षाअनुसार नचल्नु र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने प्रभावकारी योजना नहुँदा युवाहरू विदेशिनुपर्ने अवस्था कायमै रहेको गुनासो धेरैको छ।
चाडपर्वको समयमा समेत परिवार छाडेर भारत जानुपर्ने बाध्यताको अन्त्य गर्न आफ्नै प्रदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग भारत जाने नागरिकहरूको छ। त्रिनगर–गौरीफन्टा नाकाबाट मात्र नभई सुदूरपश्चिमका विभिन्न नाकाबाट समेत नेपालीहरू भारततर्फ गइरहेका छन्। उनीहरूका अनुसार राज्यले रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सके मात्रै सुदूरपश्चिमबाट भइरहेको बाध्यात्मक पलायन रोक्न सकिन्छ।