सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका वनमा पनि बाघको चहलपहल, सतर्क रहन आग्रह

२०८३ असोज १८, ०७:१७ खबर संवाददाता

धनगढी: कैलालीको गौरीगंगा नगरपालिकामा एक पुरुषको ज्यान लिएको बाघ धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित वन क्षेत्रमा पुगेको आशंका गरिएको छ। बाघको आक्रमणबाट स्थानीय उपभोक्ता कृष्ण चौधरीको मृत्यु भएको घटनापछि डिभिजन वन कार्यालय कैलालीको टोलीले बाघको खोजी तथा निगरानीलाई तीव्रता दिएको थियो।
खोजीका क्रममा आइतबार दिउँसो धनगढी–१७ को सिद्धबाबा सामुदायिक वन तथा भारताल साझेदारी वन क्षेत्रमा बाघका नयाँ पाइला अर्थात् ‘पगमार्क’ फेला परेको वन कार्यालयले जनाएको छ।

गौरीगंगा–६, धनगढीका वडा नम्बर १६ र १७ लगायतका वन क्षेत्रमा बाघको चहलपहल देखिएको र नयाँ पाइला समेत भेटिएपछि आसपासका बस्तीका स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। बाघको सम्भावित आवागमन हुने क्षेत्र भारताल साझेदारी वनको कोर क्षेत्रअन्तर्गत पर्ने धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १६, १७ र १८ तथा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ का जनप्रतिनिधिलाई समेत घटनाबारे जानकारी गराइएको छ।

डिभिजन वन कार्यालय कैलालीको टोली बाघको खोजीमा खटिएको छ। वन क्षेत्रमा बाघको गतिविधि देखिएपछि स्थानीय उपभोक्ता समूह र सर्वसाधारणलाई एक्लै जंगलमा नजान आग्रह गरिएको छ। साथै, जंगलको छेउछाउका बस्तीमा बसोबास गर्ने स्थानीयलाई रातिको समयमा समेत विशेष सतर्कता अपनाउन वन कार्यालयले अनुरोध गरेको छ।

वन क्षेत्रमा बाघको खोजी तथा निगरानीका लागि आवश्यक स्थानमा थप निगरानी बढाइएको र बाघको अवस्था तथा गतिविधिबारे थप जानकारी संकलन भइरहेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस