गेटामा एमबीबीएस सञ्चालनअघि पूर्वाधार र जनशक्तिको अवस्था सार्वजनिक गर्न सांसद चन्दको आग्रह
धनगढी : प्रतिनिधि सभा सदस्य डा. आनन्दबहादुर चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा यसै शैक्षिक सत्रदेखि एमबीबीएसलगायत स्वास्थ्य विज्ञानका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला पूर्वाधार, जनशक्ति र शैक्षिक तयारीको अवस्था पारदर्शी रूपमा सार्वजनिक गर्न आग्रह गरेका छन्।
चिकित्सा शिक्षा आयोगको निरीक्षणपछि विश्वविद्यालयमा आवश्यक प्राध्यापक, शिक्षण अस्पताल, क्लिनिकल अभ्यास, प्रयोगशाला तथा अन्य शैक्षिक पूर्वाधारका विषयमा प्रश्न तथा टिप्पणी उठिरहेको भन्दै सांसद चन्दले ती विषयलाई विरोधका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
उनले विश्वविद्यालय प्रशासनले प्रत्येक विभागमा आवश्यक, नियुक्त र कार्यरत जनशक्तिको विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्। त्यस्तै, शिक्षण अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा, बिरामीको संख्या, विद्यार्थीले प्राप्त गर्ने वास्तविक क्लिनिकल अभ्यास, आधारभूत विज्ञान प्रयोगशाला, उपकरण, पुस्तकालय, सीप प्रयोगशाला, छात्रावास तथा अनुसन्धान पूर्वाधारको अवस्थासमेत सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ।
अन्य अस्पतालसँग सहकार्य गरिएको भए त्यसको कानुनी तथा शैक्षिक स्वरूप स्पष्ट गर्न र हाल सञ्चालनमा रहेको अस्पताललाई पूर्ण क्षमताको शिक्षण अस्पतालका रूपमा विस्तार गर्ने निश्चित समयसीमा सार्वजनिक गर्नसमेत उनले आग्रह गरेका छन्।
सांसद चन्दले गेटाको तयारीलाई समयबद्ध बनाउन १५ दिनभित्र विश्वविद्यालयको जनशक्ति, अस्पताल सेवा, प्रयोगशाला, उपकरण तथा उपलब्ध पूर्वाधारको तथ्यगत विवरण सार्वजनिक गर्नुपर्ने बताएका छन्। एक महिनाभित्र विभागगत जनशक्ति, खरिद तथा शैक्षिक पूर्वाधारमा रहेको कमी पहिचान गरी कार्ययोजना सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, तीन महिनाभित्र आवश्यक जनशक्ति नियुक्ति, प्रयोगशाला तथा उपकरण व्यवस्थापन र क्लिनिकल शिक्षणको प्रबन्धमा ठोस प्रगति देखाउनुपर्ने तथा ६ महिनाभित्र अस्पताल सेवा, विशेषज्ञ जनशक्ति, निदान क्षमता र क्लिनिकल विभाग विस्तारको पहिलो चरण पूरा गर्नुपर्ने उनले बताएका छन्।
१२ महिनाभित्र विश्वविद्यालयले घोषणा गरेको शिक्षण अस्पतालको क्षमता, आवश्यक जनशक्ति र प्रमुख शैक्षिक संरचनाको लक्ष्य हासिल गर्ने दिशामा भएको प्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ। साथै, प्रत्येक तीन महिनामा प्रगति प्रतिवेदन सार्वजनिक गरी जनतालाई कामको अवस्थाबारे जानकारी गराउनुपर्ने उनले बताएका छन्।
‘जहाँ भ्रम छ, तथ्य दिऔँ, जहाँ कमजोरी छ, सुधार गरौँ र जहाँ तयारी पूरा भएको छ, प्रमाणसहित जनतालाई जानकारी दिऔँ,’ सांसद चन्दले भनेका छन्।
गेटा कुनै व्यक्ति वा समूहको निजी संस्था नभई सुदूरपश्चिमको दशकौँदेखिको सपना, राज्यको ठूलो लगानी र भावी पुस्ताको स्वास्थ्य शिक्षासँग जोडिएको राष्ट्रिय महत्वको संस्था भएकाले यसको सुरुवात नै गुणस्तर, पारदर्शिता र जनविश्वासका आधारमा हुनुपर्ने उनले बताएका छन्।
गेटामा एमबीबीएस सञ्चालन हुनु केवल एउटा शैक्षिक कार्यक्रम सुरु हुनु नभई स्वास्थ्य सेवा, रोजगारी, अनुसन्धान, क्षेत्रीय विकास र सुदूरपश्चिमका युवाको भविष्यसँग जोडिएको विषय भएकाले यसलाई पारदर्शिता, गुणस्तर र साझा जिम्मेवारीका साथ सफल बनाउनुपर्ने सांसद चन्दको भनाइ छ।