सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस देउवा पक्षको वडा अधिवेशन आजदेखि सुरु हुँदै

२०८३ असोज १५, ०९:२६ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै काँग्रेसलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै देउवाले १५औँ महाधिवेशनलाई पार्टीको आन्तरिक एकता र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका हुन्।

१५औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि वडा अधिवेशन सुरु हुँदैछ। देउवाले देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन्।

कांग्रेसको झण्डै आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेको त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशनले भूमिका खेल्ने बताएका छन्।

उनले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्धारित विधि र प्रक्रिया पूरा गरी हुने अधिवेशनलाई हर्षोल्लासका साथ सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशन आगामी २१ देखि २३ मंसिरसम्म काठमाडौंमा गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ।

कमेन्ट लोड गर्नुस