सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरका ६ सामुदायिक विद्यालयलाई नगरपालिकाले हस्तान्तरण गर्‍यो बस

२०८३ असोज १४, ०१:५० लक्ष्मण ढुङ्गाल

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर क्षेत्रका ६ सामुदायिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ।

दुर्गम तथा टाढाका बस्तीबाट विद्यालय आउने विद्यार्थीलाई सहज रूपमा विद्यालयसम्म पुग्ने वातावरण बनाउने उद्देश्यले नगरपालिकाले बस उपलब्ध गराएको हो।
बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ६ वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो। नगरपालिकाले गत आर्थिक वर्षको बजेटअन्तर्गत बस खरिद गरेको जनाएको छ। सुरुमा युरो–३ मापदण्डका बस खरिद गर्ने योजना रहे पनि सरकारले उक्त मापदण्डमा रोक लगाएपछि युरो–६ मापदण्डका बस खरिद गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीलाई सहज रूपमा विद्यालयसँग जोड्न र विद्यालयसम्मको आवागमनलाई व्यवस्थित बनाउन बस सञ्चालनमा ल्याइएको हो।
“दूरदराजका विद्यार्थीलाई विद्यालयसम्म आउन–जान सहज होस् र शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न बसको व्यवस्था गरिएको हो,” नगर प्रमुख ओझाले भने।
नगरपालिकाले श्री महाकाली माध्यमिक विद्यालय, श्री उदय माध्यमिक विद्यालय, श्री नन्द माध्यमिक विद्यालय, श्री कृष्ण माध्यमिक विद्यालय, श्री विणा माध्यमिक विद्यालय र श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो।

नगरपालिकाले बस सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको थियो। विद्यालयले बस नियमित रूपमा सञ्चालन गर्ने सुनिश्चितता गरेपछि बस हस्तान्तरण गरिएको नगर प्रमुख ओझाले बताए।

कृष्णपुर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयमा तहगत दरबन्दीअनुसार प्रधानाध्यापक तथा शिक्षक व्यवस्थापन, नगर शिक्षकको व्यवस्था र परीक्षाका लागि प्रश्नपत्र उपलब्ध गराउनेलगायतका काम गर्दै आएको जनाएको छ।

त्यस्तै,गत चालु आर्थिक वर्षमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि करिब ३ करोड ६९ लाख रुपैयाँ बराबरको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ। शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रममार्फत सेवा सुधारको काम अघि बढाइएको नगरपालिकाको भनाइ छ।

हस्तान्तरण गरिएका बस टाटा कम्पनीले निर्माण गरेका २०२६ मोडलका बस हुन्। प्रत्येक बसको मूल्य करिब ४६ लाख ४६ हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।

सानो उमेरका बालबालिकासहित टाढाका बस्तीबाट विद्यालय आउने विद्यार्थीलाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्ने उद्देश्यले बस सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। 
आगामी दिनमा नगरपालिकाभित्र रहेका अन्य सामुदायिक विद्यालयलाई समेत क्रमशः बस उपलब्ध गराउने योजना रहेको कृष्णपुर नगरपालिकाले जनाएको छ ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस