कैलालीमा भेटी संकलन गरेर भोटेकोशी बाढीपीडितका लागि ८ लाख सहयोग
अत्तरियाः कैलालीमा ख्रीष्टियनहरुले भेटी संकलन गरेर भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि ८ लाख १ हजार १५० रुपैयाँ सहयोग गरेका छन् । ख्रीष्टियन एकता समाज कैलालीले जिल्लाका १३ वटै पालिकामा रहेका मण्डलीहरूबाट स्वैच्छिक भेटी संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको हो ।
समाजले मंगलबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरेर भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सहयोग गरेको जनाएको छ ।
समाजका सचिव खडक विकले कैलालीका विभिन्न पालिकामा रहेका मण्डलीहरूबाट एक दिन बराबरको भेटी संकलन गरी उक्त रकम जम्मा गरिएको बताए । ‘कैलाली जिल्ला भरी रहेका स्थानीय मण्डलीहरूबाट एक दिनको भेटी संकलन गरेका थियौ’ उनले भने ‘एकता समाज अन्तरगत रहेका सम्पूर्ण कार्यसमिति सदस्यहरू, १३ वटै पालिकामा समाज सँग आबद्ध चर्चहरूले दुःखद स्वैच्छिक रूपमा भेटी संकलन गरेका थियौ ।’
समाजका अध्यक्ष ज्ञान बहादुर चौधरीले भोटेकोशी बाढी पीडितलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूहरूले सके सम्म भेटी संकलन गरेर सहयोग गरिएको बताए । उनले आफूहरू केही व्यक्ति भोटेकोशी बाढी प्रभावित क्षेत्रमै पुगेर पनि सहयोग गरेको बताउँदै त्यहाँ जान नसकेकाहरूले अहिले सहयोग गरेको बताए ।
उनले हाल रातको काम भइरहेको भए पनि पुन स्थापनाको अति आवश्यक रहेकोले त्यसैका लागि सहयोग गरिएको बताए ।
पास्टर देवराज भट्टले विपद्को अवस्थामा सहयोग गर्नुपर्छ भन्ने सोचका साथ विभिन्न मण्डलीहरूबाट रकम संकलन गरिएको बताए । उनले आफूहरूले संकलन गरेर सहयोग गरेको रकम सही ठाउँमा सदुपयोग होस भन्ने अपेक्षा लिएको बताए ।
गोदावरी इसाई समाजका अध्यक्ष डेबिट कैनीले एकता समाज मार्फत हाल ११ वटा पालिकामा समिति गठन गरिएको बताए । उनले प्रत्येक समितिबाट भेटी संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताए ।
उनले जसअन्तर्गत धनगढी उपमहानगरपालिकाबाट १ लाख ७० हजार १०४, गोदावरी नगरपालिकाबाट १ लाख १९ हजार ७ सय, गौरीगंगा नगरपालिकाबाट २९ हजार ८ सय, घोडाघोडीबाट ५१ हजार ३९५, भजनीबाट ४७ हजार ३२०, लम्कीचुहाबाट ५० हजार, टीकापुरबाट २ लाख ४७ हजार ७६०, जोशीपुरबाट २१ हजार ७२७, बर्दगोरीयाबाट ५५ हजार २१५, जानकी गाउँपालिकाबाट १६ हजार २४८ र कैलारीबाट १८ हजार ४५ रुपैयाँ संकलन भएको बताए । उनले सबै रकम मण्डलीका सदस्यहरूबाट संकलन गरिएको बताए । उनले गोदावरीमा मात्रै ३६ वटा मण्डली रहेको बताए ।