पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी
चितवन :गत चार दिनको निरन्तर वर्षापछि नारायणीको बाढीले बगाएको राइनो क्रुजसिप निकाल्ने तयारी गरिएको छ ।
नारायणी पुलको गैँडाकोट तर्फको छेउमा अड्किएको उक्त क्रुटसिप पुलको नजिकै नदी किनारमा रुखमा बाँधेर राखिएकोे थियो ।
सडक डिभिजन कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरे अनुसार क्रुजसिप पुलको गैँडाकोटतर्फको छेउको पिल्लरमा ठोकिएको अवस्थामा छ । नदीमा बाढी आइरहेकाले पुललाई जोखिम हुने भन्दै आइतबार साँझबाटनै क्रुजसिप हटाउने प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि तीन वटा क्रेन झिकाइएको छ ।
क्रुजसिप करिब ६० टन भार क्षमताको भएकाले सिङ्गै तान्न नसकिने भएकाले काटेर निकालिने उनले जानकारी दिए । यसअघि क्रुजसिप नारायणी नदीमा पर्यटकलाई जलयात्रा प्रयोग गरिँदै आएको थियो । क्रुज पुलमा अड्किएर पानी रोकिएपछि जोखिम हुने भन्दै प्रशासनले आइतबार साँझदेखि पुलमा ठूला भारबहान सवारी सञ्चालनमा रोक लगाएको छ ।