डेढ वर्ष नपुग्दै भासियो सहिदगेट–क्याम्पसचोक सडक
धनगढीः लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण धनगढीमा सहिदगेट–क्याम्पसचोक जोड्ने सडक भासिएको छ।
निर्माण सम्पन्न भएको डेढ वर्ष पनि नपुग्दै सडक भासिएपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ।
धनगढीको सुकुटीनालाअगाडि राष्ट्र बैंकचोक नजिकै सडकको ठूलो भाग भासिएको हो। वर्षाका कारण सडकको सतह मुनिबाट माटो बगेपछि सडक धसिएको देखिएको छ।
सडक भासिएसँगै उक्त क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित हुने जोखिम बढेको छ। व्यस्त सडकमा सडकको भाग धसिएपछि थप क्षति हुन नदिन तत्काल मर्मत तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
निर्माण सम्पन्न भएको डेढ वर्ष नपुग्दै सडक भासिएपछि स्थानीयले सडक निर्माणको गुणस्तर, नाला व्यवस्थापन र ठेकेदारको कामप्रति प्रश्न उठाएका छन्। वर्षाका कारण सडक भासिएको हो वा निर्माणकै क्रममा भएको कमजोरीका कारण समस्या आएको हो भन्ने विषयमा सम्बन्धित निकायले प्राविधिक जाँच गर्नुपर्ने देखिन्छ।