पछिल्लाे एक दशकमा सुदूरपश्चिममा प्राकृतिक विपद्बाट ५ हजारले ज्यान गुमाए
धनगढी: मनसुनलगायत प्राकृतिक विपत्का घटनामा सुदूरपश्चिम प्रदेशले पछिल्लो एक दशकमा ठुलो मानवीय एवं आर्थिक क्षति बेहोरेको छ ।
हरेक वर्ष बाढी, पहिरो जस्ता विपत्का घटना सामना गर्दै आएको प्रदेशले २०७२ सालयता पाँच हजार १९५ मानवीय क्षति बेहोरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार यस्ता घटनाका कारण अझैसम्म ५१७ जना व्यक्ति बेपत्ता छन् ।
विपत्का घटनामा परेर १५ हजार ७५१ जना घाइते भएका जनाइएको छ । यस्तै १० वर्षको अवधिमा दुई हजार ५८५ परिवार प्रभावित भएका छन् । बाढी, पहिरो, आगलागी जस्ता विपत्जन्य घटनाका कारण १० वर्षको अवधिमा ३२ अर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
प्राकृतिक विपत्बाट हुने क्षति र विपत् जोखिम न्यूनीकरणमा एक्लो प्रयास सम्भव नरहेकाले तीन तहकै सरकार र सरोकारवाला सबैलाई सहकार्य गरेर एकसाथ अगाडि बढ्न प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गइरहेकाले त्यसको सामनाका लागि सबै तहका सरकार र निकायबिच समन्वय आवश्यक रहेको बताए।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म तीन दिन यस प्रदेशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेपछि मुख्यमन्त्री भट्टले आउन सक्ने जोखिमप्रति प्रदेश सरकार सजग रहेको बताए। उनले विपत् आउनुअगाडि नै आवश्यक पूर्वतयारी, स्रोतसाधनको व्यवस्थापन र उद्धार तथा राहतका संयन्त्रलाई चुस्त बनाउनुपर्ने उल्लेख गरे। उनले भने, “विपत् व्यवस्थापनलाई राहत र उद्धारमा सीमित राखिनु हुँदैन । जोखिम न्यूनीकरण, पूर्वतयारी र दीर्घकालीन अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ ।”
मुख्यमन्त्री भट्टका अनुसार तीन दिनसम्म हुने वर्षाका क्रममा विपत् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ । विपत्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको मुख्यमन्त्रीको भनाइ थियो । उनले भने, “विपत्का घटनाबाट पाठ सिक्दै पूर्वतयारीलाई प्रभावकारी बनाउनु पर्छ ।”
यसैबिच जिल्ला प्रशासन कार्यालय कैलालीले असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने र त्यसका कारण बाढी, पहिरो तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । साथै पूर्वतयारी अवस्थामा रहन पनि प्रशासनले अनुरोध गरेको छ ।
मौसम विज्ञान विभागद्वरा जारी मौसम विशेष बुलेटिन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सतर्कताका लागि अनुरोधसम्बन्धी सूचनापछि बसेको जिल्ला सुरक्षा समिति र जिल्ला विपत् व्यवस्थापन समितिले पनि सतर्कता अपनाउनुपर्ने निर्णय गरेको छ ।
समितिले असोज ९ देखि तीन दिनसम्म अत्यन्त जरुरी नभई टाढा र रातिको समय यात्रा नगर्न आग्रह गरेको छ । यसै गरी सम्बन्धित स्थानीय तह, तीन वटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले आमसर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहने समितिले निर्णय गरेको छ ।
जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना, चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपत् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला, नदी किनारका बस्तीका बासिन्दा बढी चनाखो हुनुपर्ने निर्णय समितिले गरेको छ ।
विपत्मा मद्दत माग्नका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको हटलाइन १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ ।