सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली विद्या निकेतनको तीनदिने कथा लेखन कार्यशाला सम्पन्न

२०८३ असोज ७, ०८:१० लक्ष्मण ढुङ्गाल

धनगढी : धनगढीस्थित कैलाली विद्या निकेतनमा विद्यार्थीको सिर्जनशीलता, अभिव्यक्ति क्षमता र आत्मविश्वास विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने कथा लेखन  कार्यशाला सम्पन्न भएको छ।

असोज ५ गतेदेखि सञ्चालन भएको कार्यशालाको बुधबार समापन गरिएको हो। समापन कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यशालामा कक्षा ६ देखि १० सम्मका ५७ जना विद्यार्थीको सहभागिता रहेको थियो। तीन दिनसम्म विद्यार्थीलाई कथा लेखनका आधारभूत पक्ष, कल्पनाशीलता, कथाको संरचना तथा आफ्ना सिर्जनालाई प्रस्तुत गर्ने तरिकाबारे अभ्यास गराइएको थियो।

समापन कार्यक्रममा विद्यार्थीहरूले कार्यशालाका क्रममा तयार पारेका कथा, कविता तथा अन्य साहित्यिक रचना प्रस्तुत गरेका थिए। उनीहरूले अभिभावकका लागि तयार पारेका प्रतिबद्धता पत्रसमेत कार्यक्रममा प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै नेपाल बालसाहित्य समाजका अध्यक्ष विजय आचार्यले बालबालिकामा सिर्जनशीलता विकास गर्न पुस्तक पठन र लेखन संस्कृतिको विकास आवश्यक रहेको बताए। बालबालिकालाई भविष्यमा साहित्यकार नै बन्नुपर्छ भन्ने नभई उनीहरूको रुचि, क्षमता र चाहनाअनुसार विभिन्न क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुपर्ने उनको भनाइ थियो।

प्रमुख अतिथिका रुपमा रहेका प्रदेश कुलपति रामचन्द्र नेपालले हरेक व्यक्ति साहित्यकार बन्न आवश्यक नरहेको बताए। ‘इन्जिनियर, शिक्षक, किसान वा डाक्टर जे बने पनि हुन्छ, तर असल मानिस बन्नुपर्छ,’ उनले भने।
बालबालिकाको सिर्जनशीलता र व्यक्तित्व विकासमा बालसाहित्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले विद्यालय तहदेखि नै पठन तथा लेखन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए।

कैलाली विद्या निकेतनका संस्थापक प्रधानाध्यापक टोपेन्द्र शाहले विद्यालय २७औँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने अभिभावक, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे।
विद्यार्थीको भाषा, अभिव्यक्ति, कल्पनाशीलता तथा सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले कथा लेखन तथा वाचन कार्यशाला आयोजना गरिएको उनले बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्ना विचार र भावना सिर्जनात्मक रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

विद्यालयले विद्यार्थीको सिर्जनात्मक क्षमता र साहित्यप्रतिको रुचि विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
समापन कार्यक्रममा जनपुस्तकालयका अध्यक्ष शिवराज ओझालगायत विभिन्न साहित्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुको उपस्थिति थियो। प्रदेशका बालबालिकालाई साहित्यमा प्रोत्साहन गर्न यस कार्यशालाले प्रेरित गर्ने आयोजकले अनुमान गरेको छ ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस