सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘नौ रङ्ग सुदुरको तरङ्ग’ खुला समूह नृत्य प्रतियोगिता हुने

२०८३ असोज ६, ०६:१४ खबर संवाददाता

धनगढी :  सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा ‘नौ रङ्ग सुदुरको तरङ्ग’ एकदिने खुला समूह नृत्य प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता २०८३ असोज १० गते शनिबार धनगढीको उत्तरबेहडीस्थित रिद्धि सिद्धि प्यालेसमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुनेछ।

आयोजक द प्यासन अफ डान्सका सन्चालक अनिल खत्रीका अनुसार प्रतियोगितामा सुदूरपश्चिम क्षेत्रका लोकप्रिय तथा रैथाने नाचहरूको उत्थान, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ। प्रतियोगितामा विशेषगरी स्थानीय रैथाने नाचलाई प्राथमिकताका साथ समावेश गरिने जनाइएको छ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र तथा तृतीय हुने समूहले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै, सान्त्वना पुरस्कारका रूपमा निःशुल्क नृत्य प्रशिक्षणको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी प्रत्येक समूहमा कम्तीमा २ जना र बढीमा १० जना सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ। नृत्य तथा संस्कृति क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति तथा सहभागिता रहने आयोजक खत्रीले बताए । कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सहयोगी तथा प्रायोजक संघ–संस्थालाई विशेष सम्मान गरिनेछ।

प्रतियोगिताको नियमित दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ। निर्धारित समयपछि प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडिसम्म दर्ता गर्ने समूहका लागि २ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रत्यक्ष उपस्थित भएर द प्यासन डान्स स्टुडियो, पुष्पलाल चोक, बुद्ध मन्दिर नजिक, धनगढीमा दर्ता गर्न सकिनेछ। उपस्थित हुन नसक्ने टोलीले आयोजकले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत अनलाइन दर्तासमेत गर्न सक्ने व्यवस्था गरिएको छ।

आयोजकले सुदूरपश्चिमको मौलिक कला तथा संस्कृतिको संरक्षणमा योगदान पु¥याउने अभियानका रूपमा प्रतियोगितालाई लिएको जनाएको छ। साथै, प्रदेशका कलेज, विद्यालय, नृत्य समूह तथा कलाकारहरूलाई प्रतियोगितामा सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।प्रतियोगितालाई सफल बनाउन विभिन्न प्रायोजकका रुपमा संघसंस्थाहरुले साथ दिइरहेका छन् ।
 

कमेन्ट लोड गर्नुस