असोज १५ भित्र बजेट पारित गर्न प्रदेश सकारसँग काँग्रेसको माग
धनगढी: सुदूरपश्चिम प्रदेशमा जारी बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्दै आगामी असोज १५ गतेभित्र प्रदेशसभाबाट बजेट पारित गर्न नेपाली कांग्रेस प्रदेश संसदीय दलले सरकारसँग माग गरेको छ।
नेपालीहरूको महान् चाडपर्व नजिकिँदै गएको अवस्थामा बजेट अभावका कारण प्रदेश सरकारबाट प्रदान हुने अत्यावश्यक सेवा प्रभावित भइरहेको भन्दै कांग्रेस संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको हो।
संसदीय दलको बैठकले बजेट शून्यताका कारण प्रदेश सरकारका नियमित कामकाज, सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिमा परेको असरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैठकले प्रदेशसभाबाट बजेट अनिवार्य रूपमा पारित गरी पूर्ण कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको छ।
कांग्रेस संसदीय दलले वर्तमान सरकारले प्रतिपक्षको रचनात्मक भूमिका र सहभागितालाई निरन्तर बेवास्ता गर्दै आएको आरोपसमेत लगाएको छ। बजेट पारित गर्ने प्रक्रियामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच आवश्यक समन्वय र सहकार्य गर्न सरकारलाई आग्रह गरिएको छ।
संसदीय दलले बजेट शून्यताको अवस्थालाई थप लम्ब्याउँदा प्रदेशका नियमित सेवा तथा विकास निर्माणका काममा थप असर पर्न सक्ने भन्दै तत्काल समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।