बाख्रा व्यवसायलाई विस्तार गर्दै देवेन्द्र, धनगढीमै रोजगारी र आम्दानी
धनगढी : रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता देख्ने धेरै युवामाझ धनगढीका देवेन्द्र बोहरा भने आफ्नै ठाउँमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्।
उनले आफ्नो बुवाले सुरु गरेको बाख्रा व्यवसायलाई विस्तार गर्दै अहिले व्यावसायिक रूपमा खसी, बोका तथा बाख्राको खरिद–बिक्रीसँगै उन्नत जातका बाख्रा पालनसमेत गरिरहेका छन्।
धनगढी उपमहानगरपालिका–७ बेलीमा ‘सुदूरपश्चिमाञ्चल खसी, बोका, बाख्रा संकलन तथा खरिद–बिक्री फर्म’ सञ्चालन गर्दै आएका बोहरा परिवारले करिब १० वर्षदेखि यो व्यवसायलाई निरन्तरता दिइरहेको छ।
देवेन्द्रका बुवाले सुरुमा परीक्षणका रूपमा १०–१५ वटा बाख्रा खरिद–बिक्रीबाट व्यवसाय सुरु गरेका थिए। बाख्राको खरिद–बिक्री प्रभावकारी हुँदै गएपछि यसैलाई व्यवस्थित व्यवसायका रूपमा अघि बढाउने सोचसहित बोहरा परिवार सक्रिय भयो। अहिले यही व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ।
बोहरा परिवारले सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै कैलालीको चुरे क्षेत्रसम्म पुगेर कृषकका घरघरबाट खसी, बोका तथा बाख्रा संकलन गर्ने गरेको छ। यसरी संकलन गरिएका बाख्रा धनगढीसम्म ल्याएर बिक्री गर्ने गरिएको देवेन्द्र बताउँछन्।
उनका अनुसार अहिले फर्ममा बयर, तोतापारी, सिरोही र जमुनापारी जातका खसी, बोका तथा बाख्रा रहेका छन्। खरिद–बिक्रीसँगै उन्नत जातका बाख्राको पालनसमेत गर्दै आएका बोहराले सरकारी तथा गैरसरकारी संस्थाका कृषि कार्यक्रमका लागि समेत बाख्रा उपलब्ध गराउँदै आएका छन्।
घरायसी तथा व्यावसायिक पालनका लागि जमुनापारी जातका बाख्रा उपयोगी हुने उनको अनुभव छ। जमुनापारीले वर्षमा दुई पटकसम्म बच्चा उत्पादन गर्ने भएकाले अन्य कतिपय जातको तुलनामा किसानका लागि फलदायी हुने उनी बताउँछन्।
फर्ममा दैनिकजसो बाख्रा खरिद गर्न आउने ग्राहकको संख्या उल्लेख्य हुने गरेको छ। अहिले फर्मबाट प्रतिदिन औसत ५० देखि ६० वटासम्म खसी, बोका तथा बाख्रा बिक्री हुने गरेको बोहरा बताउँछन्। लटअनुसार खरिद–बिक्री हुने भए पनि दशैं, तिहारलगायतका मुख्य चाडपर्वमा कारोबार अझ बढ्ने गरेको उनको भनाइ छ। चाडपर्वको समयमा फर्मबाट ७ देखि ८ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताए।
व्यवसाय विस्तार हुँदै गएपछि बोहरा परिवारले आफ्ना लागि मात्रै रोजगारी सिर्जना गरेको छैन, अरूलाई समेत रोजगारी दिएको छ। आफ्नै ठाउँमा व्यवसायबाट आम्दानी हुन थालेपछि परिवारका कुनै पनि सदस्यले भारत वा अन्य
मुलुकमा रोजगारीका लागि जानुपर्ने अवस्था नरहेको देवेन्द्र बताउँछन्।
‘धनगढीमै बसेर राम्रो आम्दानी गर्न सकिने रहेछ,’ उनी भन्छन्, ‘अब यही व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने योजना छ।’
सुदूरपश्चिम कृषि तथा पशुपालनका लागि सम्भावना बोकेको क्षेत्र भएको देवेन्द्रको अनुभव छ। विशेषगरी कैलालीको चुरे क्षेत्रमा वनजंगल तथा चरन क्षेत्र प्रशस्त भएकाले बाख्रापालनका लागि राम्रो सम्भावना रहेको उनी बताउँछन्।
तर, व्यवसायमा चुनौती पनि उत्तिकै रहेको उनको अनुभव छ। भारतसँग जोडिएको क्षेत्रका साथै काठमाडौंलगायतका ठाउँबाट समेत व्यवसायीहरू कृषकका घरदैलोमै पुगेर बाख्रा खरिद गर्न थालेपछि प्रतिस्पर्धा बढेको उनी बताउँछन्। बाहिरका व्यवसायीले स्थानीय कृषकबाट सस्तो मूल्यमा बाख्रा खरिद गर्दा आफूहरूको व्यवसायमा समेत असर पर्ने गरेको उनको भनाइ छ।
पहाडी क्षेत्रका कृषकबाट बाख्रा खरिद गरेर धनगढी ल्याउने व्यवसायले किसानलाई समेत फाइदा पुगेको बोहरा बताउँछन्। गाउँमै सीमित मूल्यमा बिक्री गर्नुपर्ने अवस्थाका कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउने व्यवसायी पाएपछि उचित मूल्य पाउने उनको भनाइ छ।
‘पहाडमा उत्पादन भएका बाख्रा गाउँमै बिक्री गर्दा किसानले सोचेजस्तो मूल्य नपाउन सक्छन्,’ बोहरा भन्छन्, ‘हामीले घरघरमै पुगेर खरिद गर्दा किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउने अवस्था बनेको छ।’
बाख्रा पालन तथा खरिद–बिक्रीबाट पनि स्थानीयस्तरमै राम्रो आम्दानी गर्न सकिने उदाहरण बोहरा परिवारले प्रस्तुत गरेको छ। रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताभन्दा आफ्नै ठाउँमा उपलब्ध स्रोत, सीप र सम्भावनालाई व्यवसायमा रूपान्तरण गर्न सके आम्दानीसँगै अरूका लागि समेत रोजगारी सिर्जना गर्न सकिने देवेन्द्रको बुझाइ छ।
सुदूरपश्चिमका पहाडी तथा चुरे क्षेत्रमा पशुपालनको सम्भावना प्रशस्त रहेको भन्दै उनले स्थानीय युवालाई कृषि तथा पशुपालनमा जोडिन सके आफ्नै ठाउँमा स्वरोजगार बन्न सकिने बताएका छन्।