सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवगंगा नदीमा पुल नहुँदा धनगढीका बासिन्दालाई सास्ती

२०८३ असोज ४, ०१:४५ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–१७ पथरीस्थित शिवगंगा नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। छोटो दूरीको सडकबाट धनगढी बजार तथा वडा नम्बर १६ र १७ आवतजावत गर्न नदी पार गर्नुपर्ने भए पनि पुल नहुँदा स्थानीयलाई वैकल्पिक बाटो वा डल्लबको भर पर्नुपर्ने बाध्यता छ।

धनगढीका विभिन्न वडा तथा अन्य क्षेत्रबाट वडा नम्बर १६ र १७ प्रवेश गर्ने नागरिकले शिवगंगा नदीको सामना गर्नुपर्ने अवस्था छ। विशेषगरी धार्मिक तथा पर्यटकीयस्थलका रूपमा रहेको श्री बेहडाबाबा मन्दिर जाने भक्तजनले समेत यही नदी पार गर्नुपर्ने हुन्छ। आस्थाको केन्द्रका रूपमा रहेको बेहडाबाबा मन्दिरमा नियमित रूपमा ठूलो संख्यामा भक्तजन पुग्ने गरे पनि नदीमा पुल नहुँदा उनीहरूले आवतजावतमा थप समस्या र खर्च व्यहोर्नुपरेको स्थानीयको गुनासो छ।

पुलको अभावमा नदी वारपार गर्न अहिले डल्लब अर्थात् बैलगाडाको सहारा लिनुपर्ने अवस्था छ। डल्लबबाट नदी पार गरेबापत प्रतिव्यक्ति ३० रुपैयाँ र मोटरसाइकलका लागि १ सय रुपैयाँ शुल्क तिर्नुपर्ने स्थानीय बताउँछन्। मन्दिर दर्शनका लागि जाने भक्तजनले आउँदा–जाँदा दुईपटक शुल्क तिर्नुपर्दा थप आर्थिक भार पर्ने गरेको छ।

नदी पार गर्ने क्रममा जोखिमसमेत उत्तिकै रहेको स्थानीयको भनाइ छ। नदीमा पानीको बहाव बढेका बेला डल्लबबाट वारपार गर्न झन् जोखिम हुने गरेको उनीहरू बताउँछन्। यद्यपि, पुल निर्माण नहुँदासम्म आफूहरूले डल्लब सञ्चालन गरेर नागरिकलाई वारपार गराइरहने डल्लब चालक बताउँछन्। यसबाट स्थानीय केही व्यक्तिले रोजगारीसमेत पाएका छन्।

धनगढीको जखौर ताल हुँदै बेहडाबाबा मन्दिर जाने सडक कालोपत्रे भइसकेको छ। तर, शिवगंगा नदीमा पुल नहुँदा सडक पूर्वाधार जोडिए पनि आवतजावत सहज हुन नसकेको देखिन्छ। स्थानीयका अनुसार सडक राम्रो भए पनि नदीमा पुल नहुँदा यात्राको बीचमै अवरोध आउने गरेको छ।

छोटो दूरीमा रहेको धनगढी बजार पुग्नसमेत पुलको अभावमा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। कतिपय स्थानीय शिवगंगा नदी पार गर्ने छोटो बाटो छाडेर कनरी हुँदै लामो दूरीको सडक प्रयोग गर्छन्। यसले समय र इन्धन दुवै बढी खर्च हुने गरेको स्थानीयको भनाइ छ।

छोटो बाटो प्रयोग गर्दा नदीको जोखिम, लामो बाटो प्रयोग गर्दा समयको अतिरिक्त खर्च—दुवै विकल्प स्थानीयका लागि सहज छैनन्।

वर्षौंदेखि पक्की पुलको माग हुँदै आए पनि सम्बन्धित निकायबाट ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ। प्रदेशको राजधानीसमेत रहेको धनगढीमा महत्वपूर्ण धार्मिकस्थल र बस्ती जोड्ने सडकमा पुल नहुँदा नागरिकले दैनिक रूपमा समस्या भोग्नुपरेको उनीहरूको भनाइ छ।

स्थानीयले शिवगंगा नदीमा यथाशीघ्र पक्की पुल निर्माण गरी वडा नम्बर १६ र १७ सहित बेहडाबाबा मन्दिरसम्मको आवतजावत सहज बनाउन तीनै तहका सरकारसंग माग गरेका छन्। नागरिकको दैनिक आवतजावतसँगै धार्मिक तथा पर्यटकीय गतिविधिसमेत जोडिएको यस क्षेत्रमा पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनीहरूको माग छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस