लेखः सफलताको सात शुत्र
भरत प्रसाद श्रेष्ठः हरेक ब्यक्ति आफ्नो जीवनलाई सफल बनाउन चाहन्छन् ।
हरेकले आफ्नो जीवन हिजो भन्दा आज राम्रो र आज भन्दा भोलीको जीवन थप खुसी, सुखी र आनन्दित बनाउन चाहन्छन् । यसैका लागि सबैजना दौधुप गरिरहेका हुन्छन्, मेहनत गरिरहेका हुन्छन् । यो गरेर हुन्छ कि त्यो गरेर हुन्छ कि भनेर चिन्तन मनन गरिरहेका हुन्छन् ।
विभिन्न कामहरु गरिरहेका हुन्छन्।तर हाम्रो समाजमा हेर्र्यौ भने अधिकाँश ब्यक्तिहरु आफ्नो काम गर्ने उचित तरिका नजानेर, काम प्रति ज्ञान नभएर, अल्मलमा परेको, काममा पुरा ध्यान दिन नसकेको, कामको बोझले थिचेको, काममा रमाउन नसकेको जसका कारणउपलब्धी हासिल गर्न नसकेको देख्न सकिन्छ। थोरै ब्यक्तिहरु मात्र आफ्नो काममा रमाएको, उपलब्धी हासिल गरेका र सफल भएको देख्दछौं ।खासमा कुनैपनि काममा सफल बन्नको लागि दुईवटा महत्वपूर्ण कुरामा ध्यान दिन अति आवश्यक छ ।
सर्व प्रथम गर्न खोजेको काम उपयुक्त छनौट गर्नु पर्दछ । काम छनौट गर्दा यस्तो काम छनौट गरौं जुन कामको बारेमा आफूलाई धेरै ज्ञान छ, जुन काम गर्न पाउँदा खुब रमाएर गरिन्छत्यस्तो कामको छनौट गर्नु बुद्धिमानी हुन्छ । आफूले छनौट गरिने काम र आफ्नो बास्तविक क्षमताको बिचमा तालमेल भएपछी मात्र गरिरहेको काममा प्रगति हुन्छ ।
दोस्रो कुरा काम उपयुक्त छनौट गरिसकेपछी यसलाई आफ्नो बुद्धि, पूर्ण क्षमता र बिवेकको उपयोग गरी पुरा पुरा सम्पन्न गर्नु पर्दछ अनि मात्र प्रगति हुन्छ । कामलाई पूर्ण सजगताका साथ ब्यवस्थित ढङ्गबाट नगरेसम्म हामिले हासिल गर्न खोजेको प्रतिफल एवम् उपलब्धी हासिल हुन सक्दैन ।
हामी कुनै पनि काम गर्न थालनी गर्दछौं तर हाम्रो विगत देखिको बानी र संस्कारले हामीलाई अल्मल्याइरहन्छ जसका कारण गरिरकेको काममा पुरा ध्यान, एकाग्रता एवम् उर्जाको उपयोग हुन पाउँदैन ।
पुरानै बानी र सँस्कार रहेसम्म नयाँ कामलाई गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न सम्भव हुँदैन किनकी यसले हाम्रो बास्तविक क्षमतालाई पहिचान गर्न, प्रस्फुटन गर्न र यसको उचित प्रयोग गर्नबाट बञ्चित गराइरहन्छ, उर्जालाई क्षीण बनाइरहन्छ, सिर्जनशिलतालाई बाहिर आउन दिंदैन ।
हिँजोको विचार, बानीर संस्कारले हिँजोकै जस्तो उपलब्धी र हिँजोकै जस्तो जीवन मात्र दिन्छ नयाँ उपलब्धी र नयाँ जीवन प्राप्त हुन सक्दैन । तसर्थ हामी जीवनमा सकारात्मक प्रगति चाहन्छौं, नयाँ जीवन चाहन्छौं भने आफ्नो सकारात्मक सोंच, सकारात्मक बानी र सँस्कार एवम्आत्मअनुशासनको निरन्तर अभ्यासबाट मात्र सम्भव हुन्छ ।
यसको लागि तल उल्लेख गरिएका सात वटा शुत्रहरुलाई विशेष ध्यान दिएर यिनको पालना गरी आफ्नो कर्मलाई अगाडी बढाउन अति आवश्यक हुन्छ ।
१) लक्ष्य निर्माण
२) कार्य योजना निर्माण
३) समय ब्यवस्थापन
४) कार्ययोजना कार्यान्वयन
५) आफ्ना सबल पक्षको पहिचान गरी यिनलाई बढाउने प्रयास र दुर्बल पक्षको पहिचान गरी यिनलाई घटाउने/हटाउने प्रयास
६) दैनिकी लेखन
७) दैनिकी लेखनकोपाक्षिक रुपमा समिक्षा
सात शुत्रको बारेमा विस्तृतमा जानकारी
१) लक्ष्य निर्माण
लक्ष्य नभई गन्तव्य थाहा हुँदैन तसर्थ कहाँ पुग्ने, के हासिल गर्ने भन्ने विषय निर्माण गरिएको लक्ष्यले निर्धारण गर्दछ। गन्तब्य थाहा भएर मात्र हुँदैन त्यो गन्तब्यमा कति समयमा पुग्ने भनि समयको सिमा समेत तय गरिनु पर्दछ । अनिमात्र जीवनले नयाँ मार्ग पाउँछ र निरन्तर अघि बढ्दछ । गन्तब्य पहिचान नगरी गन्तब्यमा पुग्न गरिनु पर्ने कामको पहिचान गर्न सकिँदैन । गन्तव्यको निर्धारण भएपछीमात्र त्यहाँ सम्म पुग्न के, कस्ता र कति काम गर्नु पर्दछ भनि पहिचान गर्न सजिलो हुन्छ ।
२) कार्ययोजना निर्माण
निश्चित कार्यहरु तोकिएको समय भित्र सम्पन्न गरेपछी मात्र आफूले चाहेको लक्ष्य हासिल गर्न सकिन्छ। सर्वप्रथम तोकिएको लक्ष्य हासिल गर्न के, कस्ता, कति, कार्यहरु कसरी र कहिले सम्पन्न गर्नु पर्दछ भनि अत्यन्तै विश्लेषण गरी तयार गर्नु पर्दछ । पहिचान गरिएका कार्यहरु लक्ष्य सँग सम्बन्धित हुनु पर्दछ । लक्ष्य सँग असम्बन्धित कार्यहरु जति गरेपनि त्यसको कुनै अर्थ हुँदैन यस्ता कार्यहरुबाट तोकिएको लक्ष्य प्राप्त हुन सक्दैन ।
३) समयको ब्यवस्थापन
कार्ययोजना निर्माण गरिसकेपछी उक्त कार्ययोजना बमोजिमको कार्यहरु कार्यान्वयन गर्नको लागि दैनिक उपलब्ध भएको चौबिस घण्टाको समयलाई उचित ब्यवस्थापन गर्नु अति आवश्यक हुन्छ ।
समयको ब्यवस्थापन सहि ढङ्गबाट गरियो र यसको नियमित रुपमा पालना गरियो भने यसले हाम्रो बानीलाई परिवर्तन गरिदिन्छ । समय अनावश्यक कार्यमा खर्च हुन पाउँदैन । समयको सहि कार्यमा सदुपयोग हुने भई आशातित उपलब्धी हासिल हुन्छन् ।
पहिचान गरिएका कार्यहरुको कार्यान्वयनको लागि प्राथमिकता तोकि सोहि बमोजिम आवश्यक पर्ने समय विभाजन गर्नु पर्दछ ।समयको विभाजन गर्दा कामको प्राथमिकिकरण अनुसार गर्नु उपयुक्त हुन्छ । कामलाई प्राथमिकिकरण गर्दा जुन काम आज नै गर्नु पर्नेछ त्यस्ता कामलाई पहिलो प्राथमिकता, जुन काम आजै नगरेपनी खासै असर नपर्ने भोली वा पर्सी वा केहि दिन पछी गर्दा हुन्छ त्यस्ता कामलाई दोस्रो प्राथमिकता र जुन काम गर्दा राम्रै हुन्छ तर नगर्दा केही असर पर्दैन त्यस्ता कामलाई तेस्रो प्राथमिकतामा राखि सोहि बमोजिम समयको बिभाजन एवम् ब्यवस्थापन गर्नु पर्दछ ।
४) कार्ययोजना कार्यान्वयन
कार्ययोजना निर्माण गरिसकेपछी यसलाई यत्तिकै थन्काएर राखेर लक्ष्यमा पुगिंदैन । लक्ष्यमा पुग्नको लागि तोकिएका कार्यहरु तोकिएको समयमा निरन्तर गर्नु पर्दछ अनिमात्र गन्तब्य भेट्न सकिन्छ । पहिचान गरिएका कार्यहरुलाई तोकिएको विधि, प्रकृया एवम् सिर्जनशिलता प्रयोग गरी तोकिएको समयमा गर्ने अभ्यास गरिरहनु पर्दछ । निरन्तर कार्य सञ्चालनमा ध्यान दिनु अति आवश्यक हुन्छ ।
गुणस्तरीयताको लागि निश्चित विधि, प्रकृया, सिर्जनशिलता र उपयुक्त निर्णय अति आवश्यक हुन्छ भने तोकिएको समयमा लक्ष्य प्राप्तिका लागि निरन्तरता एवम् नियमितताको अति महत्वपूर्ण भूमिका हुन्छ। तसर्थ जुन कामको लागि जुन दिन जुन समय तोकिएको छ सोहि दिन सोहि समयमा गर्ने अभ्यास गर्नु पर्दछ ।
आज गरिनु पर्ने कामलाई टारेर भोलिको लागि सारियो भने यसले हामिलाई अस्तब्यस्त बनाउँछ । जति सुकै राम्रा लक्ष्य बनाएपनी कार्यान्वयन पक्ष कमजोर भयो भने उपलब्धी हुँदैन । लक्ष्यलाई साकार बनाउने भनेको तोकिएका कार्यहरुलाई गुणस्तरीय ढङ्गबाट कार्यान्वयन गरेर नै हो।
५) आफ्ना सबल पक्षको पहिचान गरी यिनलाई बढाउने प्रयास र दुर्बल पक्षको पहिचान गरी यिनलाई घटाउने/हटाउने प्रयास
हरेक ब्यक्तिमा सबल पक्ष एवम् सकारात्मक गुण र दुर्बल पक्ष एवम् सुधार गर्नु पर्ने पक्ष हुन्छन् । हमी यी दुबै गुण बोकेर हिँडिरहेका हुन्छौं । जस्तो गुण हुन्छ त्यस्तै विचार र कर्म बन्दै जान्छ र सोहि बमोजिमको परिणाम प्राप्त हुने गर्दछ । प्रगति गर्नका लागि राम्रा कर्म गर्नु पर्दछ र राम्रा कर्म गर्नका लागि राम्रा विचार निर्माण हुनु पर्दछ ।
सकारात्मक गुण बढाउने तथा दुर्बल पक्षहरु हटाउने/घटाउने कुरा भनेर मात्र स्वत: भैहाल्ने कुरा होइन यसका लागि दृढ सँकल्प र नियमित अभ्यास आवश्यक पर्दछ । आफ्ना सकारात्मक गुणहरु दिन प्रतिदिन बढाउने अभ्यास गर्दै जाँदा नकारात्मक एवम् दुर्बल गुणहरु स्वत: बिस्तारै घट्दै जान्छन/हट्दै जान्छन् ।
निश्चित समय पश्चात आफूभित्र सकारात्मक गुण हाबी हुँदै जान्छ । यस्तो अवस्थामा आफूभित्र उज्यालो छाएको, सकारात्मक उर्जाले भरिएको महशुस आफैलाई हुन थाल्छ । अब बिस्तारै आफ्नो भाव सकारात्मक बन्दै जान्छ, मनबाट आउने हरेक विचारहरु सकारात्मक हुन्छन् अनि सोहि बमोजिमका कर्महरु छनौट र कार्यान्वयन हुँदै जान्छन् ।
६) दैनिकी लेखन
दिनभरिको कर्म सकि राती सुत्नु अघी आफुले दिनभरीमा के कस्ता कार्यहरु गरियो, आजको दिनको मुख्य उपलब्धी के कस्तो रहयो ? गर्न नहुने, अनावश्यक काम के गरियो ? के कस्ता कार्यहरुमा बढी समय ब्यतित भयो ? जे जस्ता कार्य गरियो सबैलाई समेटेर करिब ६/७ बुँदामा नियमित रुपमा एउटा छुट्टै डायरीमा लेख्ने बानीको अभ्यास गरौं ।
यसले आफूले कुन दिनमा के काम गरियो भन्ने विषयमा स्मरण गर्न सहज हुन्छ साथै आफ्नो स्व:मूल्याङ्कन गर्न र आत्मअनुशासन कायममा समेत सहयोगी हुन्छ । हरेक दिन दैनिकी लेख्ने बेलामा आज दिनभरीमा के उपलब्धी गरियो भनेर आफूले आफैसँग जवाफ मागिने भएकाले आफ्नो दैनिकीलाई उपलब्धी तर्फ अघि बढाउन दैनिकी लेखनले अति नै महत्वपूर्ण भूमिका खेल्दछ ।
७) दैनिकी लेखनको पाक्षिक समिक्षा
हामी प्राय आफ्नो ब्यक्तित्व एवम् समग्र विकासका लागि स्व:निरीक्षण एवम् स्व:मूल्याङ्कन गर्न आवश्यक हुन्छ अनिमात्र आफ्नो बास्तविकता थाहा पाउन सक्दछौं । आफूले आफ्नै बारेमा जान्ने, बुझ्ने तथा आफ्नासकारात्मक पक्ष र सुधार गर्नु पर्ने पक्ष पत्ता लगाउने यो एउटा महत्वपूर्ण विधि हो ।
यस अन्तरगत आफूले दैनिक रुपमा डायरीमा लेखिएका दैनिकीलाई हरेक १५ दिनमा समिक्षा गर्ने, पन्ध्र दिनसम्म गरिएका कृयाकलापहरुको अध्ययन, विश्लेशण एवम् समिक्षा गर्ने । यसले आफ्ना गतिविधिहरुलाई ऐना जस्तै छर्लङ्ग देखाइदिन्छ ।
यसले मुख्य रुपमा आफ्नो दैनिक कार्यहरु लक्ष्य उन्मुख छन् कि छैनन् भनेर यथार्थ रुपमा चित्रण गरिदिन्छ । यदि आफूले दैनिक रुपमा गरिरहेका कार्यहरु लक्ष्य सँग सम्बन्धित रहेछन् भने यसलाई कायम राख्ने र निरन्तरता दिने तर्फ ध्यान दिनु पर्ने हुन्छ भने आफ्नो दैनिक कार्यहरु तथा ब्यतित हुने अधिकाँश समय लक्ष्य सँग सम्बन्धित रहेको पाइएन भने यसतर्फ सचेत हुँदै आफ्ना कार्य पद्धतीलाई सच्याउँदै अघि बढाउनु पर्ने देखिन्छ ।
-लेखक भरत प्रसाद श्रेष्ठ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका उपसचिव हुन्।