सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण सुडानमा शरणार्थीको सङ्ख्या उच्च, महिला र बालबालिका ७५ प्रतिशत

२०८३ असोज ३, ०२:०६ रासस

एजेन्सीः संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९ जना शरणार्थीलाई आश्रय दिइरहेको छ।

कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार उक्त संख्यामा ६ लाख ५७ हजार ४७९ जना दर्ता भएका शरणार्थी र चार हजार ५० जना शरण खोज्ने व्यक्ति रहेका छन् ।
शरणार्थीमध्ये अधिकांश सुडानी नागरिक रहेका छन् । उनीहरूले कुल शरणार्थी जनसंख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसपछि प्रजातान्त्रिक गणतन्त्र कङ्गोका नागरिक २ प्रतिशत छन्। बाँकीमा इथियोपिया, इरिट्रिया, मध्य

अफ्रिकी गणतन्त्रलगायत विभिन्न देशका नागरिक रहेका छन् ।
सुडानमा जारी द्वन्द्वका कारण देश छाडेर दक्षिण सुडान प्रवेश गर्ने व्यक्तिलाई दक्षिण सुडान सरकारले प्रथम दृष्टिमा शरणार्थीको हैसियत प्रदान गर्दै आएको कार्यालयले जनाएको छ ।

शरणार्थी जनसंख्यामध्ये शून्यदेखि ५९ वर्ष उमेर समूहका महिला ४९ प्रतिशत रहेका छन् भने महिला र बालबालिका गरी कुल जनसंख्याको ७५ प्रतिशत हिस्सा रहेको छ ।
शरण खोज्ने करिब चार हजार ५० जनाको समूहमा इरिट्रिया र इथियोपियाका नागरिक समान रूपमा ३८–३८ प्रतिशत रहेका छन् । त्यसपछि बुरुन्डीका नागरिक ११ प्रतिशत छन् । बाँकीमा युगान्डा, सोमालिया तथा अन्य देशका नागरिक रहेका छन् ।

दक्षिण सुडान क्षेत्रकै ठूलो विस्थापन संकटको केन्द्रमा रहेको कार्यालयले जनाएको छ । २३ लाखभन्दा बढी दक्षिण सुडानी नागरिक छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा बसिरहेका छन् । उनीहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, केन्या, युगान्डा र सुडानलगायत देशमा रहेका छन् ।

कमेन्ट लोड गर्नुस