सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीजको उत्सवसँगै मानवीय सेवा, बाढीपीडितका लागि १ लाख ८ हजार सहयोग

२०८३ असोज ३, १२:०५ लक्ष्मण ढुङ्गाल

धनगढी : हरितालिका तीजको उत्सवलाई सांस्कृतिक कार्यक्रममा मात्रै सीमित नराखी बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ ले मानवीय सेवासँग जोडेको छ। वडाले तीज विशेष कार्यक्रममार्फत बाढीपीडितका लागि १ लाख ८ हजार १ सय १५ रुपैयाँ सहयोग संकलन गरेको हो।
रसुवामा गत १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले वडा कार्यालयले तीज विशेष कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको वडा कार्यालयले जनाएको छ।
विपद्को कठिन परिस्थितिमा बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको वडा अध्यक्ष करनजङ्ग बहादुर सिंहले बताए।
उनले तीजजस्ता सांस्कृतिक पर्वलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्न सके पर्वको महत्व अझ बढ्ने बताए।
“तीजको खुसीसँगै पीडामा परेका नागरिकका लागि सहयोग जुटाउनु हाम्रो सामाजिक दायित्व पनि हो,” अध्यक्ष सिंहले भने।
वडाले गरेको सहयोगले विपद्का बेला स्थानीय तह र समुदायले पीडितको साथमा उभिनुपर्ने सन्देश दिएको छ। तीजको सांस्कृतिक रौनकसँगै मानवीय संवेदना र सामाजिक एकताको भावना प्रवाह गर्ने उद्देश्यले गरिएको उक्त अभियानले ‘खुसी बाँडौँ, पीडामा साथ दिऔँ’ भन्ने सन्देशसमेत दिएको छ।
 

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस