सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाचारपछि सेती अस्पतालको शौचालयमा लगाइयो ढोका

२०८३ असोज २, ०४:४० खबर संवाददाता

धनगढी: सेवाग्राहीले सास्ती खेप्दै आएको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको शौचालयमा ढोका लगाइएको छ।

अस्पतालको क्यान्टिन पछाडिको शौचालयमा ढोका नहुँदा सेवाग्राहीले कपडाको पर्दा लगाएर प्रयोग गर्नुपर्ने अवस्था रहेको समाचार सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनले तत्काल ढोका जडान गरेको हो।

तीनवटा कोठा रहेको उक्त शौचालयमध्ये एउटा कोठाको ढोका पूर्ण रूपमा भाँचिएको थियो भने अर्को कोठाको ढोका समेत चर्किएको अवस्थामा थियो। ढोका नहुँदा बिरामी तथा कुरुवाले शौचालय प्रयोग गर्दा गोपनीयता कायम गर्न समस्या भोग्दै आएका थिए।

अस्पतालको स्टोरमा कार्यरत जगतबहादुर सिंहका अनुसार शौचालयका ढोका पटक–पटक तोडफोड हुने गरेका कारण समस्या देखिएको थियो। उनले अब शौचालयमा हुने तोडफोड नियन्त्रणका लागि बाहिर सिसिटिभी क्यामेरा जडान गर्ने तयारीसमेत गरिएको बताए।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने प्रमुख स्वास्थ्य संस्था हो। शौचालयमा ढोका जडान भएसँगै सेवाग्राहीले भोग्दै आएको गोपनीयता र असहजताको समस्या तत्कालका लागि समाधान भएको छ।
 

कमेन्ट लोड गर्नुस