कृषि कार्यक्रमका लागि रानी जमरा कुलरिया आयाेजनाले छनोट गर्यो १९३ किसान
धनगढी: रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले चालु आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कृषि कार्यक्रमका लागि १९३ किसान छनोट गरेको छ।
एकाइले केरा खेती सहयोग (उत्पादन तथा बजारीकरण) कार्यक्रम अन्तर्गत ७१ किसान छनोट गरेको हो । ६० हेक्टर क्षेत्रफललाई लक्षित गरिएको कार्यक्रममा का लागि ८६.६ हेक्टरको माग आएपनि ८४.३ हेक्टरमा केराखेती गर्न किसान छनोट गरेको आयोजनाले जनाएको छ।
त्यस्तै, मुक्तकमैया तथा दलित कृषकका लागि तरकारी, च्याउ तथा अन्य उत्पादनमूलक कार्यक्रम अन्तर्गत १२२ किसान छनोट भएका छन् । उक्त कार्यक्रमका लागि १२३ वटा आवेदन परेको थियो।
तरकारीतर्फ च्याउ तथा तरकारी खेतीसँगै उन्नत कुखुरा, बङ्गुर, बाख्रा र भैँसीपालन लगायतका कृषि गतिविधि सञ्चालन गरिने एकाइले जनाएको छ । छनोट भएका किसानलाई सम्झौता गर्न आयेजनाले आव्हान गरेको छ ।