एक हजारको सहयोग, एक लाखको उपहार
काठमाडौँ: करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौमा प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु एक हजार सहयोग गर्ने एक जना पनि रु एक लाखको उपहार विजेतामा परेका छन्।
आन्तरिक राजस्व विभागले आज सार्वजनिक गरेका भदौ महिनाका ३३ जना विजेतामध्ये कोषमा उक्त रकम प्रदान सहयोग गर्ने एक जना परेको हो।
विभागका अनुसार भदौमा हरेक दिन एक जनाका दरले ३१ जना र दुई जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिएको हो।
भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि निर्धारित उपहार घोषणा कार्यक्रम स्थगन भएको थियो।
भदौ महिनाका ३१ विजेताले जनही रु एक लाख तथा दुई जना बम्पर विजेताले जनही नगद रु १० लाख उपहार प्रदान गरिने छ।
सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।