सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढी: राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीले भदौ महिनामा गरेका काम कारबाहीको विवरण सार्वजनिक गरेकाे छ।
पत्रकार सम्मेलमार्फत सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा भदौ महिनामा मात्र २१६ वटा सवारी दुर्घटना भएकाे जनाएको छ। सो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३५ जना गम्भीर घाइते र ३३० जना सामान्य घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
प्रदेश ट्राफिक प्रहरी कार्यालयको विवरणअनुसार भदौ १ गतेदेखि ३० गतेसम्म भएका दुर्घटनामा ९ जनाको घटनास्थलमै र उपचारका क्रममा थप ३ जनाको मृत्यु भएको उनले बताए । यस अवधिमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३ हजार ३५५ वटा सवारीसाधनलाई कारबाही गरिएको उनको भनाइ छ।
कारबाहीबाट २७ लाख ४८ हजार ५०० रुपैयाँ जरिवाना संकलन भएको विवरणमा उल्लेख छ। त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९३ जना चालकलाई कारबाही गरी ३ लाख ४० हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ।
सार्वजनिक यात्रुवाहक सवारी साधनका चालकहरूको लागुपदार्थ सेवन चेकजाँचका क्रममा ६ जना चालकमा पोजेटिभ देखिएपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको र चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ।
ट्राफिक प्रहरीले सवारी धनी नखुलेका मोटरसाइकल नियन्त्रणमा लिने अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ। साथै, सडक सुरक्षा सुधारका लागि विभिन्न अभियान, सवारीसाधनको यान्त्रिक परीक्षण तथा ट्राफिक व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिएको विवरणमा उल्लेख छ।