सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा २२ वर्षीया युवती बेपत्ता

२०८३ भदौ ३०, ०७:५४ खबर संवाददाता

धनगढी: डोटीको दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीमा झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा खसेर एक युवती बेपत्ता भएकी छन्।

मंगलबार साँझ करिब ४ः५५ बजे दिपायल सिलगढी नगरपालिका–६ नाचनथली बस्ने श्रीचन्द्र श्रेष्ठकी अन्दाजी २२/२३ वर्षीया छोरी प्रियंका श्रेष्ठ झोलुङ्गे पुलबाट सेती नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर कठायतको कमाण्डमा १० जनाको प्रहरी टोली खोजीका लागि परिचालन गरिएको थियो।

त्यसैगरी, साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी उपरीक्षक सागर बोहराको कमाण्डमा थप १० जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता युवतीको खोजी तथा उद्धारका लागि प्रहरी टोलीले सेती नदी आसपासका क्षेत्रमा खोजी गरिरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

कमेन्ट लोड गर्नुस