टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपका लागि एरिष्टो स्कूलकाे क्रिकेट टोली घोषणा
धनगढी: धनगढीस्थित एरिष्टो माध्यमिक विद्यालयले टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपका लागि आफ्नो क्रिकेट टोली घोषणा गरेको छ।
विद्यालयमा आयोजित एक कार्यक्रमबीच टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीको परिचय गराउँदै प्रतियोगिताका लागि शुभकामना दिइएको हो।
कार्यक्रममा विद्यालयकी म्यानेजिङ डाइरेक्टर (एमडी) शान्ति अधिकारीले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउनु विद्यालय र खेलाडी दुवैका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन्। उनले खेलाडीलाई अनुशासन, मेहनत र उच्च मनोबलका साथ प्रतियोगितामा प्रस्तुत हुन शुभकामना दिँदै खेलाडीको क्षमता विकासका लागि विद्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
टोलीका कप्तान महेन्द्र विष्टले प्रतियोगिता जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए। उनले उच्च मनोबलका साथ अनुशासनलाई प्राथमिकतामा राखेर खेल प्रदर्शन गरे उत्कृष्ट नतिजा हासिल गर्न सकिने बताए।
विद्यालयका माध्यमिक तहका खेलकुद संयोजक विकास विश्वकर्माले खेलकुदले विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलाडीको क्षमता विकासका लागि विद्यालयले आगामी दिनमा पनि आवश्यक सहयोग र अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रिन्सिपल हरि क्षेत्रीले एरिष्टो माध्यमिक विद्यालयबाट राष्ट्रियस्तरमा खेलाडीको पहिचान स्थापित हुँदै गएको बताए। खेलाडीको प्रोत्साहन र विकासका लागि विद्यालय सदैव सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि टोलीलाई शुभकामना दिए।
कार्यक्रममा खेलाडीहरूलाई खादा तथा माला लगाएर सम्मान गर्दै प्रतियोगिताका लागि शुभकामना दिइएको थियो। साथै टोलीका खेलाडीलाई जर्सी हस्तान्तरण गर्नुका साथै खेलाडी तथा प्रशिक्षकको परिचयसमेत गराइएको थियो।
टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपका लागि एरिष्टोको टोलीमा प्रकाश माघी, धीरेन्द्र न्यौपाने, अंशर निरौला, निर्देशन कुँवर, प्रकाश बोहरा, नवीन सिंह, किरण हेउबा, प्रशान्त ठाकुर, महेन्द्र विष्ट, देवेन्द्र शाह, भूपेश जोशी (सि.यु.सि.), विशाल विष्ट, जीवन थलाल, महेश देउवा, स्नेहा महरा र दिनेश ऐर रहेका छन्।
टोलीको कप्तानमा महेन्द्र विष्ट, टिम म्यानेजरमा दिनेश ऐर र हेड कोचमा महिला राष्ट्रिय खेलाडी स्नेहा महरा रहेका छन्। विद्यालयका ईसीए इन्चार्ज दर्शन थापा र खेलकुद संयोजक विकास विश्वकर्मासहितको व्यवस्थापन टोलीले प्रतियोगितामा क्रिकेट टोलीलाई व्यवस्थापन गर्नेछ।
विद्यालयले युवा खेलाडीलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताको अवसर प्रदान गर्दै उनीहरूको खेल क्षमता, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले टोली घोषणा कार्यक्रम आयोजना गरिएको जनाएको छ।