टीकापुरका हिक्मत थापा अफ्रिकामा ‘बेस्ट सीईओ लिडरशिप अवार्ड’ बाट सम्मानित
टीकापुर: कैलालीको टीकापुरका हिक्मत थापा अफ्रिकाको प्रतिष्ठित ‘बेस्ट सीईओ लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। अफ्रिकाको लागोसमा आयोजित अफ्रिका ब्रान्ड अवार्डको २०२६ संस्करणमा थापालाई उक्त सम्मान प्रदान गरिएको हो।
थापा डाङ्गोटे ग्रुपअन्तर्गतको डाङ्गोटे सिनोट्रक वेस्ट अफ्रिका लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। औद्योगिक तथा व्यावसायिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थापालाई उनको नेतृत्व क्षमता र योगदानको कदरस्वरूप अवार्ड प्रदान गरिएको जनाइएको छ।
अफ्रिका ब्रान्ड अवार्ड विगत १४ वर्षदेखि प्रत्येक वर्ष लागोसमा आयोजना हुँदै आएको छ। अवार्डमार्फत अफ्रिकाका उत्कृष्ट ब्रान्ड, उद्योग, व्यापारिक संस्था तथा नेतृत्वलाई विभिन्न विधामा सम्मान गरिँदै आएको छ। यस वर्ष २५ भन्दा बढी विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।
थापा विगत २० वर्षदेखि डाङ्गोटे ग्रुपमा आबद्ध छन्। यस अवधिमा उनले चाउचाउ, चिनी, वनस्पति तेल, टमाटर पेस्ट, राइस मिल, सिजनिङ तथा हेभी भेहिकल्सलगायत विभिन्न उद्योग र परियोजनाको नेतृत्व गरिसकेका छन्।
नेपाल, भारत र अफ्रिकामा औद्योगिक परियोजना स्थापना तथा सञ्चालनको क्षेत्रमा थापासँग ३५ वर्षभन्दा बढीको अनुभव रहेको बताइएको छ। अफ्रिकाको औद्योगिक क्षेत्रमा नेपाली नेतृत्वको पहिचान स्थापित गर्नसमेत थापाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यो सम्मानले थापासँगै टीकापुर र नेपालकै पहिचानलाई थप उचाइमा पुर्याएको छ।