सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोटेकोशी बाढी प्रभावित परिवारलाई मासिक १५ हजार आवास खर्च

२०८३ भदौ २८, ०३:१० खबर संवाददाता

काठमाडौँ: भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सरकारले आवास भाडा तथा आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने भएको छ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको जनाउँदै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराइनेछ।

उनले आइतबार सामाजिक सञ्जालमार्फत स्थायी आवास निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन्।

सरकारले प्रभावित परिवारलाई मासिक नगद सुविधा लिन नचाहेको अवस्थामा अर्को विकल्पसमेत उपलब्ध गराएको छ। त्यस्ता परिवारका लागि स्थायी आवास निर्माण सम्पन्न नभएसम्म सरकारले नै अस्थायी आवासको व्यवस्था गर्नेछ।

मन्त्री तिमिल्सिनाका अनुसार राहत तथा आवास व्यवस्थापनका लागि आवश्यक विवरण र तथ्याङ्क संकलन गर्न सम्बन्धित स्थानीय तहहरूमा फाराम पठाइसकिएको छ।

कमेन्ट लोड गर्नुस