धनगढीका रबेन्द्र विक्रम शाहलाई राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी
काठमाडौं: युवा सशक्तीकरण, नेतृत्व विकास तथा नागरिक सहभागिताका क्षेत्रमा लामो समयदेखि सक्रिय रबेन्द्र विक्रम शाह राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यमा नियुक्त भएका छन्। नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्मा शाहलाई कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी दिइएको हो।
युवा क्षेत्रको नीति, नेतृत्व विकास, स्वयंसेवा, मानव अधिकार, सामाजिक अभियान तथा नागरिक सहभागितामा एक दशकभन्दा बढी समयदेखि सक्रिय शाह यसअघि पनि राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। युवा क्षेत्रमा हासिल गरेको अनुभव, योग्यता र योगदानका आधारमा उनलाई पुनः परिषद्को महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो।
शाहले आफ्नो शैक्षिक यात्रामा समेत उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। उनले MBA अध्ययनमा विश्वविद्यालय टपरको उपलब्धि हासिल गरेका छन्। शैक्षिक क्षेत्रसँगै युवासम्बन्धी नीति, तालिम, अभियान, संवाद तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरूमा उनको सक्रिय संलग्नता रहँदै आएको छ।
व्यवसायिक रूपमा समेत शाह शिक्षा क्षेत्रमा आबद्ध छन्। उनी विभिन्न कलेजहरूमा स्नातक तहका विद्यार्थीलाई अध्यापन गराउने लेक्चररका रूपमा समेत कार्यरत छन्। शिक्षण, युवा नेतृत्व र सामाजिक अभियानलाई समानान्तर रूपमा अघि बढाउँदै आएका शाहले युवाको शैक्षिक तथा व्यावसायिक क्षमता विकासलाई समेत प्राथमिकतामा राख्दै आएका छन्।
शाहले एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्। जेसिआइ धनगढी जुनियर ,जेसिआइ बालाजु,युथ इनिसिएटिभ,एम्नेस्टी इन्टरनेशनल,युथ एनजिओ, लायन्स क्लब,वर्ड फुड फरम नेपाल लगायतका संस्थासँगको आबद्धतामार्फत उनले युवा नेतृत्व विकास, मानव अधिकार, सामाजिक उत्तरदायित्व, सुशासन, स्वयंसेवा र नागरिक सहभागिताका क्षेत्रमा काम गरेका छन्।
विशेषगरी स्थानीय तथा ग्रामीण क्षेत्रका युवालाई नेतृत्व विकास र क्षमता अभिवृद्धिका अवसरसँग जोड्ने, युवाको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने तथा रोजगारी, उद्यमशीलता र सीप विकासका अवसर विस्तार गर्ने विषयमा शाहले निरन्तर पैरवी गर्दै आएका छन्। राष्ट्रिय युवा परिषद्का विभिन्न तालिम तथा कार्यक्रममार्फत उनले देशका विभिन्न जिल्लाका युवासँग प्रत्यक्ष रूपमा काम गरेको अनुभवसमेत हासिल गरेका छन्।
युवा क्षेत्रसँगको लामो संलग्नता र विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको कार्यअनुभवका कारण परिषद्मा उनको नयाँ जिम्मेवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी परिषद्का नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, युवाको सहभागिता बढाउने, सरकारी तथा गैरसरकारी क्षेत्रबीच समन्वय विस्तार गर्ने र युवाका मुद्दालाई नीति निर्माणको तहमा प्रभावकारी रूपमा उठाउने कार्यमा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी प्राप्त गरेपछि शाहले युवाका अवसर, सम्भावना र आवाजलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी मेरा लागि सम्मानसँगै ठूलो उत्तरदायित्व पनि हो। यसअघि बोर्ड सदस्यका रूपमा प्राप्त अनुभवलाई थप प्रभावकारी ढंगले प्रयोग गर्दै युवाको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने, युवाका अवसर र सम्भावनालाई विस्तार गर्ने तथा समावेशी, सक्षम र जिम्मेवार युवा पुस्ता निर्माणका लागि इमान्दारीपूर्वक काम गर्नेछु,” शाहले भने।
युवा नेतृत्व, शिक्षा, सामाजिक अभियान तथा संस्थागत कार्यको अनुभवलाई एकीकृत गर्दै आएका शाहको नियुक्तिले राष्ट्रिय युवा परिषद्, युवा संघ–संस्था, नागरिक समाज तथा सरकारी निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
परिषद्को आगामी कार्यदिशामा युवाको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास, रोजगारी तथा उद्यमशीलता, सीप विकास, सामाजिक सुरक्षा, खेलकुद तथा सिर्जनात्मक क्षेत्रमा युवाका अवसर विस्तार गर्ने विषयमा उनको अनुभव उपयोगी हुने विश्वास गरिएको छ।