मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व अटवारीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
अटवारी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले यस पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले अटवारीले थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा थप ऊर्जा प्रदान गर्ने बताएका छन्।
उनले अटवारी पर्वको अवसरमा थारू समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।
अटवारी पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारू समुदायले मनाउने धार्मिक तथा सांस्कृतिक पर्व हो। यो पर्व भदौ महिनामा कृष्ण जन्माष्टमीपछिको आइतबार मनाउने परम्परा छ। कतिपय स्थानमा कुशेऔँसीपछिको पहिलो आइतबारलाई अटवारीका रूपमा विशेष महत्वका साथ मनाउने गरिन्छ।