सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी र डडेल्धुराबीच अन्तरजिल्ला सुरक्षा समन्वय बैठक

२०८३ भदौ २७, ०५:३९ खबर संवाददाता

डोटीः डोटी र डडेल्धुरा जिल्लाबीच शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनलगायतका विषयमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।

डोटीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भदौ २७ गते शनिबार सम्पन्न बैठकमा डोटी र डडेल्धुरा जिल्लाका जिल्ला सुरक्षा समितिका सदस्यहरूको सहभागिता रहेको थियो।

भौगोलिक रूपमा एक–अर्कासँग जोडिएका दुवै जिल्लाबीच नागरिक आवतजावत, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन, अपराध नियन्त्रण, शान्ति सुरक्षा, राजमार्ग सुरक्षा तथा प्राकृतिक स्रोत संरक्षणलगायतका विषयमा समन्वय आवश्यक रहेकाले बैठक आयोजना गरिएको जनाइएको छ।

बैठकमा दुवै जिल्लाको समसामयिक शान्ति सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो। अन्तरजिल्ला अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, विपद् पूर्वतयारी तथा प्रतिकार्य, राजमार्ग र यातायात सुरक्षा तथा सीमा क्षेत्रको निगरानीका विषयमा समेत छलफल भएको थियो।

त्यसैगरी, सुरक्षा निकायबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा सम्भावित सुरक्षा चुनौतीमा संयुक्त रूपमा प्रतिकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ। बैठकले दुवै जिल्लाबीच सुरक्षा तथा प्रशासनिक समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न निर्णयसमेत गरेको छ।

बैठकमा साझा सरोकारका विषयमा नियमित समन्वय र सहकार्य गर्दै सम्भावित अपराध तथा विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षा निकायलाई थप सक्रिय बनाउने विषयमा समेत जोड दिइएको थियो।
 

कमेन्ट लोड गर्नुस