कैलालीकाे चुरेस्थित मेलकट्टेश्वर माविमा १६१औँ मोतीजयन्ती मनाइयाे
कैलाली: चुरे गाउँपालिका–६ बयलास्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाएको छ।
कुशेऔँसीको अवसरमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा मोतीराम भट्टको तस्बिरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले मोतीराम भट्टको व्यक्तित्व तथा कृतित्वबारे मन्तव्य राखेका थिए। विद्यालयका सूचना अधिकारी सुभाषचन्द्र भण्डारीका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा आफ्ना विचार अभिव्यक्त गर्ने क्षमता विकास गर्नुका साथै नेपाली भाषा तथा साहित्यप्रति रुचि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
मोतीजयन्तीकै अवसरमा विद्यार्थीहरूले तयार पारेको बाल साहित्यिक भित्तेपत्रिका ‘मञ्जरी’ समेत विमोचन गरिएको छ। भित्तेपत्रिकामा विद्यार्थीले सिर्जना गरेका विभिन्न साहित्यिक तथा रचनात्मक सामग्री समेटिएका छन्।
विद्यालयले राष्ट्रिय विभूति तथा महत्वपूर्ण व्यक्तित्वका जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदै आएको जनाएको छ।