टीकापुरमा चोरीको आतंक : ३० भन्दा बढी घर निशानामा, सुरक्षा कडा बनाउन प्रकाश खड्काको माग
टीकापुर: कैलालीको टीकापुर क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै चोरीका घटना बढ्न थालेपछि नागरिकको सुरक्षा चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रकाश खड्काले प्रभावकारी अनुसन्धान र सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।
खड्काले जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिँदै टीकापुर क्षेत्रमा हालसम्म २५/३० भन्दा बढी घरमा श्रृङ्खलाबद्ध चोरीका घटना भएको उल्लेख गरेका छन्। लगातार चोरीका घटना भइरहँदा नागरिकको धनसम्पत्तिसँगै व्यक्तिगत सुरक्षामाथि समेत प्रश्न उठेको भन्दै उनले घटनालाई सामान्य रूपमा नलिई गम्भीरतापूर्वक लिन आग्रह गरेका हुन्।
निवेदनमा चोरीका घटनाको वास्तविक कारण, संलग्न व्यक्ति वा समूह तथा सम्भावित आपराधिक सञ्जालको पहिचान गरी अनुसन्धानलाई परिणाममुखी बनाउन माग गरिएको छ। चोरीका घटनाबीच कुनै आपसी सम्बन्ध वा संगठित समूहको संलग्नता भए त्यसको समेत गहिरो अनुसन्धान गर्न खड्काले आग्रह गरेका छन्।
उनले प्रभावित तथा संवेदनशील क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउन, अनुसन्धान कुन चरणमा पुगेको छ भन्नेबारे आवश्यक तथ्यगत जानकारी सार्वजनिक गर्न तथा स्थानीय तह, प्रहरी र नागरिकबीच समन्वय गरी टोलस्तरीय सुरक्षा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।
चोरीका घटना समयमै नियन्त्रण हुन नसके यसले भविष्यमा लागुऔषध, चोरी तथा अन्य आपराधिक गतिविधिको जोखिम बढाउन सक्ने भन्दै खड्काले दीर्घकालीन सुरक्षा रणनीति बनाउनसमेत प्रशासनको ध्यानाकर्षण गराएका छन्।
‘अपराधी पत्ता लगाउने, अनुसन्धान गर्ने र कानुनी दायरामा ल्याउने मूल जिम्मेवारी राज्यको हो,’ भन्दै खड्काले नागरिकमा बढेको सुरक्षा चिन्ता तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।