वन अधिकृत हुँ भन्दै ठगी गर्ने कैलालीका एक युवक पक्राउ
धनगढी:आफूलाई वन अधिकृत (फरेष्ट अफिसर) भनी परिचय दिँदै ठगी धन्दा चलाउँदै आएका एक युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका वडा नं. ०४ बस्ने २५ वर्षका दिपेश चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले एक युवतीलाई प्रेम सम्बन्धमा पारेर उनको घरपरिवार तथा नातेदारहरूलाई समेत वन कार्यालयमा करारमा जागिर लगाइदिने लोभ देखाएका थिए। उनले जागिरको प्रलोभनमा पारी नक्कली परिचय पत्र र नियुक्ति पत्रसमेत बनाएर रकम ठगी गरेको पाइएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई भदौ २२ गते धनगढी उप-महानगरपालिका वडा नं. ०१ स्थित डिभिजन वन कार्यालय कैलाली नजिकैको सडक खण्डबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चौधरीमाथि ठगी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।