पहिरोबाट विस्थापित अपिहिमालका ६ परिवारलाई गाउँपालिकाको राहत
दार्चुला: अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण विस्थापित भएका ६ परिवारलाई गाउँपालिकाले राहत सामग्री उपलब्ध गराएको छ।
वडा कार्यालयले आयोजना गरेको औपचारिक कार्यक्रममा पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको तर्फबाट प्रतिपरिवार एक–एक थान कम्मल, त्रिपाल, म्याट्रेस र चामल वितरण गरिएको हो।
गत भदौ १९ गते गएको पहिरोका कारण घरमा बस्न जोखिम भएपछि ती परिवार विस्थापित भएका थिए। विस्थापित परिवारलाई आफन्तको घरनजिकै सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।
तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउँदै सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए।
पहिरोका कारण प्रभावित परिवारको अवस्था र आवश्यकताका आधारमा थप सहयोग तथा व्यवस्थापनलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।