सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौलानी नदीमा तत्काल जोखिम नभए पनि सतर्क रहन दार्चुला प्रशासनको आग्रह

२०८३ भदौ २०, ०८:०१ खबर संवाददाता

काठमाण्डौ: दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा हिजो पहिरोले थुनिएको चौलानी (चमेलिया) नदीमा तत्काल जोखिम नरहे पनि सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले दिएकाे जानकारीअनुसार पहिरोले आधा थुनिएको नदीको भागबाट निरन्तर पानी बगिरहेको छ । तर थप पहिरो खसेमा नदी पुरै थुनिन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहिरहन उनको आग्रह छ ।

अहिले आत्तिन नपर्ने, तर सावधानी भने अपनाउनुपर्ने उनकाे भनाइ छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि हिजो सूचना निकालेर महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।

चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र थप पहिरो आएर पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

कमेन्ट लोड गर्नुस