सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको गौमुलमा अविरल वर्षापछि पहिरो : एक घर पूर्ण क्षति, १२ परिवार जोखिममा

२०८३ भदौ १९, ०५:०६ खबर संवाददाता

बाजुरा: अविरल वर्षाका कारण बाजुराकाे गौमुल गाउँपालिका–३ माझपालीको भिट्टालीमा आएको पहिरोले एक घर पूर्ण क्षति भएको छ । लगातारको वर्षासँगै माझपालीका हर्क विकको घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष गोरखबहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार काल्नेखानी मेलाबाट आएको पहिरोले काल्चेखानी खानेपानी आयोजना र एक पानी घट्टमा पनि क्षति भएको छ । पछाडिबाट आएको पहिरोले हर्क विकको घर पूर्ण रुपमा क्षति भएको उनले बताए । यस्तै घरको तलबाट आएको पहिरोका कारण स्थानीय कौशल विकको घर पनि उच्च जोखिममा रहेको वडाध्यक्ष बोहराले बताए ।

पहिरोले वडा ३ को कार्यालय जाने बाटो समेत बगाएपछि आवतजावत नै बन्द भएको वडाध्यक्ष बोहराले बताए । पहिरोका कारण माझालीको भिट्टाली गाउँका १० परिवार समेत पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष बोहरा बताउँछन् । 

यस्तै गएराति ११ बजे आएको खसेको पहिरोले सोही गाउापालिका–२ गैरा, आग्र र अन्द्राडीमा पनि क्षति गरेको छ । वडा २ का अध्यक्ष देवबहादुर रोकायाका अनुसार गैरामा २ परिवार पहिरोको उच्च जोखिममा रहेकोले अन्यत्र सुरक्षित ठाउँ सार्न समन्वय भइरहेको छ । लगातार वर्षा भइरहेकाले जोखिममा रहेको बस्तीका स्थानीयलाई सुरक्षित ठाउामा सार्न त्रिपालका लागि प्रशासनमा समन्वय भइरहेको वडाध्यक्ष रोकायाको भनाई छ ।

कमेन्ट लोड गर्नुस