‘मन्त्रालयको कुर्सीमै बसेर नेतृत्व गर्नुपर्छ भन्ने सोच पुरानो भयो’ : गृहमन्त्री गुरुङ
काठमाण्डाैँः गृहमन्त्री सुदन गुरुङले विपद् प्रतिकार्यका लागि सरकारले डिजिटल माध्यमबाट प्रभावकारी रूपमा कमान्ड सञ्चालन गरिरहेको बताएका छन्। उनले मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्नुलाई मात्रै नेतृत्वको मापदण्ड मान्ने सोच अहिलेको युगमा पुरानो भइसकेको टिप्पणी गरे।
विपद् प्रतिकार्य कमान्ड सेन्टर विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा पूर्ण रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै गुरुङले अनलाइन माध्यमबाट हरेक चार घण्टामा कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू भइरहेको बताएका छन्।
‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ,’ गुरुङले भनेका छन्, ‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ, चिन्ता लिनुपर्दैन।’
गुरुङले विगतमा फिल्डको वास्तविक अवस्था नबुझी कुर्सीबाट मात्रै नेतृत्व गर्ने प्रवृत्तिका कारण अपेक्षित परिणाम हासिल हुन नसकेको दाबी गरे। पुरानै प्रणालीबाट फरक र उत्कृष्ट परिणामको अपेक्षा गर्दै पुनः त्यही शैली अपनाउन दबाब दिनु आफूलाई आश्चर्यजनक लागेको उनको भनाइ छ।
‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ,’ उनले भने, ‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ।’
आफू कहाँ बसेको छु भन्ने विषयभन्दा विपद् प्रतिकार्यबाट प्राप्त भइरहेको परिणामलाई प्राथमिकता दिन पनि गृहमन्त्री गुरुङले आग्रह गरेका छन्।