सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकद्वारा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग

२०८३ भदौ १८, ०७:१८ खबर संवाददाता

धनगढी: डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ।

पोलिक्लिनिकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको पोलिक्लिनिककी डा. निर्मला भट्टले जानकारी दिइन्।

रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको छ। सोही अभियानमा ऐक्यबद्धता जनाउँदै चिरञ्जिवी पोलिक्लिनिकले पनि आर्थिक सहयोग गरेको हो।

पोलिक्लिनिककी डा. भट्टले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताइन्। स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाले विपद्का बेला मानवीय सहयोगलाई समेत प्राथमिकतामा राख्दै आएको उनको भनाइ छ।

डडेल्धुरा सदरमुकाममा डेढ दशकदेखि सञ्चालनमा रहेको चिरञ्जिवी पोलिक्लिनिकले जिल्लावासीलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। पोलिक्लिनिकमा भिडियो एक्सरे, प्रयोगशाला तथा आकस्मिक सेवासहितका स्वास्थ्य सेवा सञ्चालनमा छन्।

स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको पोलिक्लिनिकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस